© २०२३
दाङ,१४ साउन ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिक खोजबीन आयोग पीडितमैत्री बनाउन ठूलो चुनौती रहेको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको घुम्ती शिविरमा बोल्दै ढुंगेलले आयोग गठन र त्यसको नेतृत्व चयनको विषयमा द्वन्द्वपीडितहरुले नै उठाएको प्रश्न र यसअघिका आयोगको कार्यसम्पादनले आयोगलाई विश्वसनीय बनाउन चुनौती थपिएको बताएका छन् । डा. ढुंगेलले सरकारको ढिलासुस्तीका कारण मानवअधिकार आयोगलाई झन समस्या भएको बताए ।कतिपय पीडितहरुले नै यो आयोगको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने गुनासो आउने गरेको बताएका छन ।
शान्ति सम्झौताको लामो समय बितिसक्दा पनि संक्रमणकालीन न्याय टुंगिन नसक्नुमा राजनीतिक नेतृत्वको कमजोरी भन्दै उनले प्रमुख दलका नेतृत्वले चाहे द्वन्द्वपीडितले न्याय पाउने बताए ।
त्यसका लागि आयोगलाई पीडितमैत्री बनाउनुपर्ने र पीडितलाई विश्वासमा लिनुपर्ने डा. ढुंगेलको भनाइ छ । पीडितलाई विश्वास दिलाउन प्रत्येक काम र मेहनत स्वयं आयोगले गर्नुपर्ने सुझाव दिएको बताए । । साथै उनले न्यायका लागि खबरदारी गर्नुपर्ने भन्दै पीडितहरु आफै विभाजित भएर न्याय पाउन नसकिने बताए ।
आयोगका अर्का सदस्य मनोज दवाडीले विगत हेर्दा अहिले बनेका आयोगले द्वन्द्वपीडितलाई न्याय दिन्छन् भन्ने ग्यारेन्टी नभएको बताए । द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले आयोगको फेरबदल भन्दा पनि द्वन्द्वपीडितलाई न्यायको आवश्यकता परेको स्पष्ट पारेका छन । उनले न्यायिक प्रक्रियामा सहयोग र गलत कार्यमा खबरदारी गर्दै न्याय र परिपूरणलाई छिटो छरितो गराउनुपर्नेमा जोड दिएका थिए । पीडितले न्यायको आसा गरिरहेका छन् उनीहरूलाई न्याय हुने गरि काम गर्नुपर्ने बताए ।
द्वन्द्वपीडितहरु जंगबहादुर जिसी, द्रौपदा न्यौपाने, चुमा आचार्य ,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागर लगायतले धारणा राखेका थिए ।