© २०२३
बुटवल, १४ साउन ।
बुटवल उपमहानगरपालिकाको एउटा साहसी निर्णयले अहिले ४० जना किशोरीहरूको जीवनमा उज्यालो ल्याइरहेको छ । “छोरी पढाऔँ, समाज बढाऔँ“ भन्ने नारासहित थालिएको यो अभियानले शिक्षालाई मात्र होइन, सीप र आत्मनिर्भरतालाई पनि समान महत्व दिएको छ। र, यही सोचले आज बुटवल नारी सशक्तिकरणको एउटा सशक्त उदाहरण बनेको छ ।
सीपको ढोका खोलेको पहिलो पाइला
नेपालको समाजमा अझै पनि छोरीहरूको शिक्षा, विशेषगरी प्राविधिक शिक्षा, गौण विषयको रूपमा हेरिन्छ। तर बुटवल उपमहानगरपालिकाले यस्तो सोचलाई चुनौती दिंदै प्राविधिक शिक्षालाई छोरीहरूका लागि सहज, निशुल्क र पहुँचयोग्य बनाएको छ।
एसईई पास गरेकी, १६ वर्ष उमेर पार गरेकी कुनै पनि किशोरी अब ‘प्रि–डिप्लोमा इलेक्ट्रिकल’ वा ‘प्रि–डिप्लोमा मेकानिकल इन्जिनियरिङ’ जस्तो व्यावसायिक तालिममा सहभागी हुन सक्नेछिन्—त्यो पनि पूर्णतः निशुल्क रूपमा।
तीन तहको साझेदारीः सरकार, शैक्षिक संस्था र निजी क्षेत्र
बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) र देवदह मेडिकल कलेजसँगको त्रिपक्षीय सम्झौता मार्फत सैद्धान्तिक र प्रयोगात्मक दुवै तालिम दिइदैछ। यस सहकार्यलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले “अवसरबाट बञ्चितहरूलाइ जीवनमा पुनः एकपटक अघि बढ्ने ढोका“ भनेका छन्।
कथा केवल किताबको होइन, जीवनको पनि हो
देवदह मेडिकल कलेजका गोपाल पोखरेल भन्छन्, “जीवन केवल किताबी होइन, प्रायोगिक हो। सीप सिकेपछि आत्मनिर्भरता आउँछ र त्यही आत्मनिर्भरता परिवर्तनको जरो हो।”
यो भनाइको प्रत्यक्ष प्रमाण हुन्, बुटवल विद्युत प्राधिकरणमा कार्यरत तिलिसरा दर्लामी। उनी भन्छिन्, “त्यो बेला मेरो सँग सपना त थियो, तर साधन थिएन। (बिटिआई) को तालिमपछि म आत्मनिर्भर बनेँ। म चाहन्छु, अरु छोरीहरूले पनि त्यो आत्मबल अनुभव गरुन्।”

गाउँदेखि सहरसम्मः सबैका लागि खुला ढोका
बुटवल मात्र होइन, गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची, दाङ, रोल्पा, रुकुम, कपिलवस्तु लगायतका जिल्लाबाट आएका किशोरीहरू पनि यो तालिममा सहभागी छन्। दलित, आदिवासी, जनजाति र आर्थिक रूपमा कमजोर पृष्ठभूमिका छोरीहरूले यो तालिम मार्फत नयाँ जीवनको सुरुवात गरिरहेका छन्।
गुल्मीकी सहभागी चन्द्रकला कुमाल भन्छिन्, “हामी अवसरको खोजीमा थियौं। अब यो तालिमले हाम्रो जीवनमा नयाँ मोड ल्याउनेछ।”
सपना अब सम्भावनामा रूपान्तरण
इलेक्ट्रिकलतर्फ, छात्राहरूले वायरिङ, मोटर मर्मत, ट्रान्सफरमर जडान जस्ता सीप सिक्दैछन्, जसले स्वरोजगार वा अन्य रोजगारीमा अवसर दिन्छ। उता, मेकानिकल इन्जिनियरिङले मोटर, पम्प, वेल्डिङ, फिटिङ आदिमा दक्ष बनाउनेछ, जसले उनीहरूलाई वर्कसप सञ्चालनदेखि ग्यारेज खोल्नसम्म प्रेरणा दिनेछ।
जयन टेक्निकल कलेजकी प्रमुख नम्रता थापा भन्छिन्, “यो कार्यक्रम समावेशी र रुपान्तरणमुखी छ। समाजको सोचमा आएको सकारात्मक परिवर्तनलाई यसले थप गहिरो बनाइरहेको छ।”

अभियान मात्र होइन, उत्प्रेरणा पनि
यो अभियानले ४० छोरीहरूको मात्र जीवन परिवर्तन गर्ने होइन, अरु नगरपालिकाहरूका लागि पनि एउटा प्रेरणादायक मोडेल बनिरहेको छ। स्थानीय सरकार, शैक्षिक संस्था र निजी क्षेत्रको सहकार्यले जब यस्तो प्रगतिशील अभियान थाल्छ, तब त्यसले दीर्घकालीन सामाजिक परिवर्तन सम्भव बनाउँछ।
बुटवल उपमहानगरको ’छोरी पढाऔँ, समाज बढाऔँ’ अभियान, सीप र शिक्षा सँगसँगै आत्मबलको पनि अभियान हो—जहाँ प्रत्येक किशोरी आफूभित्र लुकेको क्षमतालाई चिन्न, बढाउन र समाजमा आफ्नै पहिचान बनाउने यात्रामा होमिएकी छन्।