© २०२३
काठमाडौँ, १४ साउन ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रिय उपस्थिति देखिए पनि, सत्तापक्षका केही मन्त्रीहरूको निष्क्रियता भने आलोचनाको विषय बनेको छ।
एलडीसी (अल्पविकसित मुलुक) स्तरोन्नति पछिको अवस्थाबारे चलिरहेको बहसमा सांसदहरूले आ–आफ्नो दृष्टिकोण राखिरहेकै बेला प्रधानमन्त्री ओली गम्भीर मुद्रामा चासोपूर्वक सबै धारणा सुन्दै थिए। बहसपछिको जवाफमा प्रधानमन्त्रीले संसदमा गरिएको छलफलको प्रशंसा गर्दै भने, “म सम्पूर्ण बहस ध्यानपूर्वक सुनेँ। यो राष्ट्रिय सभाको गरिमा कायम राख्ने प्रकारको छलफल हो।”
तर, प्रधानमन्त्रीकै अगाडिको पंक्तिमा रहेका मन्त्रीहरूको व्यवहार भने यसको विपरीत देखियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, र रक्षामन्त्री मानवीर राई बहसको दौरान निदाएको अवस्थामा देखिए।
बैठकको लाइव प्रसारण र त्यसपछि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूले मन्त्रीहरूको निद्राले जनप्रतिनिधिका भूमिकामाथि प्रश्न उठाएको छ। प्रधानमन्त्रीको सजगता र मन्त्रीहरूको बेवास्ताबीचको यो अन्तरले जनस्तरमा असन्तोषको भाव झल्किएको देखिन्छ।
सरकारकै अग्रपंक्तिमा बसेका मन्त्रीहरू राष्ट्रको महत्वपूर्ण छलफलप्रति यसरी उदासीन रहनु लोकतान्त्रिक मर्यादासँग मेल खाँदैन भन्ने टिप्पणीहरू व्यापक रूपमा देखिन थालेका छन्।