काठमाडौं, १४ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रशंसा गरेका छन् । उनले भने कि राष्ट्रिय सभामा गहिराइसहित विषयकेन्द्रित बहस भएको छ र यसका लागि सदस्यहरूलाई धन्यवाद दिन चाहन्छन् ।

बुधबार राष्ट्रियसभामा अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्राजुएसन) विषयमा छलफल भएको थियो । यस अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले विधेयकमा अध्ययन समेत गरेको थियो ।
प्रधानमन्त्री ओलीले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि भएको छलफल पुरै सुनेर राष्ट्रिय सभाका सदस्यहरूको प्रशंसा गरेका हुन् ।
उनले भने, ‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको छ । सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो, त्यस्तै भएको छ ।’
सभाध्यक्ष नारायण दाहालले सांसदहरूलाई तीन मिनेटको समय दिँदै विषय केन्द्रित भएर कुरा राख्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले पनि त्यसै अनुरूप बहस भएको बताए ।
उनले थप भने, ‘समयसीमाभित्र छलफल सीमित गर्नुभएको छ र तीन मिनेटको समयमा सबैले राम्रो तयारीसहित कुरा राख्नुभएको छ । यो बहसको शैली र गहिराइको लागि धन्यवाद दिन चाहन्छु ।’




