© २०२३
काठमाडौं, १४ साउन ।
नेपाली सेयर बजार बुधबार पुनः गिरावटमा गएको छ। अघिल्लो दिन ३००२ अंकमा रोकिएको नेप्से परिसूचक आज ४७.९३ अंकले घटेर २९५४ मा झरेको छ, जसले बजारलाई फेरि ३ हजार अंक मुनि पु¥याएको छ।
कारोबारको सुरुआतदेखि नै बजारमा ओरालो देखा परेको थियो, जुन अन्त्यसम्म पनि कायमै रह्यो। कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भए पनि आज त्यो घटेर १६ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ।
कुल २३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २२६ कम्पनीको घटेको छ। बजारका अधिकांश समूहहरू ऋणात्मक देखिए।
बैंकिङ, विकास बैंक, फाइनान्स, पर्यटन, हाइड्रोपावरदेखि बीमा समूहसम्म सबै घटे। अन्य समूह भने ०.८५ प्रतिशतले बढ्न सफल भयो।
यो दिन सान्भी इनर्जी र ट्रेड टावर लिमिटेड का सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। सान्भीको मूल्य ८४५.९० रुपैयाँमा पुगेको छ भने ट्रेड टावरको मूल्य ९४८.९० रुपैयाँमा उक्लिएको छ। यस्तै, समता लघुवित्त, सिक्लेस हाइड्रो र भूगोल इनर्जीका सेयरहरूमा पनि उल्लेख्य वृद्धि देखियो।
अर्कोतर्फ, ग्रिन डेभलपमेन्ट बैंक सबैभन्दा धेरै ८ प्रतिशतले घट्दा कालिका पावर, सीवाईसी लघुवित्त र नाडेप लघुवित्तका सेयर मूल्य पनि उल्लेखनीय रूपमा घटे।
दिनभरको कारोबारमा सबैभन्दा धेरै आकर्षण पाएको कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा रहेका छन्।