© 2026
नेपालगञ्ज, १४ साउन ।
नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा भएको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको आर्थिक घोटाला सम्बन्धी मुद्दा बुधबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा दर्ता गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विस्तृत अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालतको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो ।
बैंकमा अनियमितता गरेको आरोपमा चार जना पक्राउ परेका छन् भने १०९ जनालाई प्रतिवादी बनाएर ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो । उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार, मुद्दामा समावेश १०९ प्रतिवादीमध्ये राजेन्द्रवीर राय (संस्थापक अध्यक्ष), पशुपति दयाल मिश्र (संस्थापक सदस्य तथा पूर्व अध्यक्ष), वेदप्रकाश सिंह ठकुरी (वित्त शाखा प्रमुख), र भुवन बस्नेत (नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी) पक्राउ परेका छन् ।
बाँकी १०५ जना फरार अवस्थामा छन् । मुद्दा दर्ता भएको मिसिलअनुसार, राजेन्द्रवीर रायको नाममा २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ, पशुपति दयाल मिश्रको नाममा ८२ करोड ४६ लाख २९ हजार रुपैयाँ, वेदप्रकाश सिंह ठकुरीको नाममा २४ करोड ६३ लाख ९९ हजार रुपैयाँ, र भुवन बस्नेतको नाममा १० लाख ८९ हजार २५० रुपैयाँको बिगो कायम गरिएको छ ।
यो मुद्दाको १०८७ पृष्ठ लामो मिसिल अदालतमा दर्ता भइसकेको छ भने पक्राउ परेकाहरूको बयान बिहीबारदेखि लिन सुरु गरिने जानकारी पनि सूचना अधिकारी विष्टले दिएका छन् ।
पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी सीआईबीले अनुसन्धान गरेको हो । राष्ट्र बैंकले २०८१ सालको पुस १० गते कर्णाली विकास बैंकलाई समस्याग्रस्त बैंक घोषणा गरेको थियो ।
त्यसपछि बैंकको सम्पूर्ण व्यवस्थापन राष्ट्र बैंकले आफैंले हातमा लिएको थियो । राष्ट्र बैंकको निर्देशनमा बैंकको सुधार तथा सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरिएको थियो । सो समूहले २०८१ पुस ११ गतेदेखि जिम्मेवारी सम्हालेको थियो ।