© 2026
बर्दिया, १३ श्रावण ।
पश्चिम नेपालको थारु बस्तीहरूमा, विशेष गरी साउन चालकिङ (मोहन) अर्थात् नागपञ्चमीको दिनमा थारु समुदायले गुरही पर्व धूमधामका साथ मनाइरहेका छन् ।
पर्वमा गाउँ–घरमा रंगीचंगी कपडाका पुतला—गुरही अथवा गुरिया—बनाइन्छ, युवतीहरूले ती पुतला खोलाहरूमा छोड्छन् र बालक÷युवकहरूले सोंटा र कोर्राले ‘दे घुघ्री दे घुघ्री’ भन्दैँ ठटाउने गर्दछन् । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
यस पर्वले रोग, दुःख र अवगुणहरू गाउँबाट हटाउने विश्वास गरिएको छ । थारु समुदायको गुरही पर्व बर्षको पहिलो पर्व हो ।विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका बस्ती बस्तीका साथै पछिल्लो समय काठमाडौँ लगायत अन्य जिल्लाहरुमा बसोबास गर्ने थारु समुदायले समेत यो पर्व मनाउन थालेका छन ।
गुरही पर्वको अवसरमा आज बर्दिया जिल्लाको ८ स्थानीय निकाय मध्ये गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र बढैयाताल बाहेक अन्य कुनै स्थानीय तहले स्थानीय बिदा दिएका छैन् ।
गुरही भनेको एक किसिमको गाइने किरा हो । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको थारु समाजसेवी कमलेश चौधरीले बताउँछन् ।
हुन त थारु भाषामा गुरिया भन्नाले मोतीमालालाई जनाउने गर्दछ । तर यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको स्पष्ट हुन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व भन्ने गरिन्छ ।
नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरूमा खुर्मा, बरिया (पुरीजस्तो) जस्ता परिकार तेलमा पकाइने गरिन्छ । घर–घरमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ ।
सूर्यास्त हुने बेलातिर युवती तथा महिलाहरु गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।