© २०२३
बुटवल, १३ साउन ।
विश्व हेपाटाइटिस दिवस २०२५ को अवसरमा साईनो केन्द्र रुपन्देहीमा ‘हेपाटाइटिस जनचेतना तथा स्क्रिनिङ कार्यक्रम’ गरिएको छ ।
रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको आयोजनामा साईनो केन्द्रमा रहेका ५० जनाको हेपाटाइटिस बी स्क्रिनिङ, अल्ट्रासाउन्ड परीक्षण गरिएको हो ।
कार्यक्रममा क्लबका वर्ष २०२५/२०२६ का अध्यक्ष डा.मन्जु गुभाजुले रोटरीको मुलमन्त्रलाई आत्मसात गरेर आफुहरु स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताईन । सचेतनामुलक प्रारम्भिक परीक्षण र खोप मार्फत हेपाटाइटिसको नियन्त्रणमा सशक्त भूमिका खेल्ने लक्ष्यसहित कार्यक्रम गरिएको भन्दै परिक्षणबाट आएको रिर्पोटको आधारमा थप उपचार र खोपको तयारीसमेत भएको उनले बताईन । क्लबबाट निःशुल्क स्वास्थ्य शिविर र सचेतना कार्यक्रम निरन्तर रुपमा आयोजना गर्ने उनले प्रतिबद्धता जनाईन ।
कार्यक्रममा डा. साहिल भुसालले हेपाटाइटिस रोगबारे जानकारी दिँदै रोगका प्रमुख प्रकारहरू, जोखिमयुक्त व्यवहार र सुरक्षात्मक उपायहरूबारे बताए । उनले हेपाटाइटिस बि र सि दीर्घकालीन कलेजो क्षतिको प्रमुख कारण बन्न सक्ने समेत बताए ।
संक्रमित रक्त, सुईको प्रयोग, असुरक्षित यौन सम्पर्क र आमाबाट शिशुमा सर्ने संक्रमण हेपाटाइटिस बि र सि को प्रमुख संक्रमण मार्ग भएको र रोगबाट जोगिनका लागि खोप लगाउने, सुरक्षित अभ्यास अपनाउने र सुरुवातमै परीक्षण गरी उपचार सुरु गर्नु महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा डा. अभिषेक बज्राचार्य र डा. विजय भण्डारीले निःशुल्क अल्ट्रासाउन्ड स्क्रिनिङ सेवा प्रदान गरेका थिए । परीक्षणका आधारमा आवश्यक देखिएका ५० जना बिरामीहरूलाई हेपाटाइटिस बि को खोप लगाउने योजना बनाइएको क्लबका सचिव विजय भण्डारीले बताए ।