© २०२३
गुल्मी, १३ साउन ।
बर्षायाम सुरु भएसँगै गुल्मीका किसानहरूलाई यति बेला खेत रोपाइँको चटारो सुरु भएको छ । साउन महिनामा पानी पर्न थालेपछि साउनको दोस्रो साता सकिन लाग्दा किसानहरू धमाधम खेत रोपाइँमा व्यस्त बनेका हुन् ।
यहाँका अधिकांश किसानहरू साउनको पहिलो सातासम्म खेतमा लगाएको मकै पाकेसँगै धान रोपाइँ गर्न थालेका हुन् । समयमा पानी नपरेपछि खडेरीका कारण मध्य साउनमा पनि तराईका फाँटहरू सुख्खै भए पनि गुल्मीमा भने त्यस्तो अवस्था नरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
किसानहरू धमाधम खेतमा धान रोपाइँको काममा व्यस्त देखिन्छन् । साउन महिनाको दोस्रो सातासम्म आई पुग्दा जिल्लामा हालसम्म ८६ प्रतिशत खेतमा धान रोपाइँ भैसकेको छ ।
जिल्लामा ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफल मध्ये ६ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले जानकारी दिएका छन् ।
गत वर्षको तुलनामा यस पटक खेत रोपाइँको प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म आई पुग्दा ७५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । समयमा पानी परेका कारण किसानहरूले यस पटक छोटो अवधिमा धेरै खेत रोप्ने अवसर पाएका हुन् ।
यस पटक धान रोपाइँ गर्ने प्रतिशत बढे पनि रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको बताइएको छ । जसका कारण धान उत्पादन हुने क्षेत्रफल मध्य यस वर्ष ९० प्रतिशत खेतमा मात्र धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बन्जाडेले बताए ।
खेतमा धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला लगायतका समस्या रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा सुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका हुन् ।
यस पटक धान रोप्नको लागि केही छल्दी फाँटमा आकाशे पानीको भर परेर बस्नु परे पनि अन्यत्र ठाउँमा भने समयमै धान रोपाइँ भएको बताइएको छ ।
जिल्लामा धान उत्पादनको कुल क्षेत्र मध्य गत वर्ष चैते धान एक हजार २८६ र बर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको बताइएको छ । जिल्लामा धानका हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवा लगायतका स्थानीय जात रहेका छन् ।
उन्नत जातहरूमा साँवा मन्सुली, खुमल १, खुमल ४, हिमाली हाइब्रिड, राम धान लगायत छन् । जिल्लामा बढिगाड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्ग शान्तिपुर, मजुवा लगायतका फाँटहरू धान उत्पादनको लागि मुख्य पकेट क्षेत्रहरू हुन ।
गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिने गरेको छ भने अरू बाँकी सबै खेतहरूमा बर्खे धान लगाउने गरिन्छ । गुल्मीमा धान बाली मकैपछिको दोस्रो प्रमुख बाली रहेको छ ।