Butwal Today

सम्झौता बेवास्ता गरिएपछि प्राधिकरणका ज्यालादारी कमचारी धर्नामा

१३ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, साउन १३ ।

नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू मासिक ज्यालादारीमा रूपान्तरणको मागसहित आन्दोलनमा उत्रिएका छन्। पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरू संघर्षमा उत्रिएका हुन्।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०८० साउन ३१ गते बसेको ९४९ औं बैठकले दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरिसकेको छ। तर, उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा आउन नसकेपछि कर्मचारीहरू ‘दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति’को नेतृत्वमा आन्दोलनमा उत्रिएका हुन्।

प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि कालोपट्टी बाँधेर धर्ना दिइरहेका कर्मचारीहरूले निर्णय तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्।

संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेश प्रसाद खतिवडाले निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गरेर आफूहरुलाई घर फर्काउनुपर्ने उनको धारणा छ ।

उनले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने माग पनि राखेका छन्।

खतिवडाले मागहरू पूरा नभएसम्म काम ठप्प पार्दै अनिश्चितकालीन धर्नामा बस्ने चेतावनी दिएका छन्।