© २०२३
बुटवल, १३ साउन ।
रुपन्देहीमा ८४ प्रतिशत पुरुषले रक्तदान गरिरहदा रगत खपत महिलाहरुमा धेरै छ । कुल ५३ प्रतिशत बिरामी महिलाहरुमा रगत खपत भएको छ ।
रुपन्देही जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा ३४ हजार ७२ पिन्ट रगत संकलन भएको तथ्यांकमा देखिन्छ ।
जसमा पुरुष दाता ८४ प्रतिशत र महिला दाता १४ प्रतिशत छन् । आर्थिक बर्ष २०८१÷८२ मा बुटवल ब्लड बैंक र सिद्धार्थनगर ईकाईबाट ३४ हजार ७२ युनिट रगत संकलन गरि ३७ हजार ९ सय ९३ युनिट रगत तथा रक्ततत्व वितरण भएको छ । जसमा पुरुष १७ हजार ७७६ र महिला बिरामीको संख्या भने २० हजार २१७ जना रहेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालले सबैभन्दा धेरै १३ हजार २१९ युनिट रगत तथा रक्ततत्व खपत गरेको छ । युनिभर्संल मेडिकल कलेन भैरहवाले ५ हजार ७७० र गौतम बुद्घ सामुदायिक मुटु अस्पतालले ५ हजार ७५ रगत तथा रक्ततत्व खपत गरेको छ । यता नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाले ७५५ महिला रक्तदाता सहभागी गराई उत्कृष्ट संस्थाको रुपमा सम्मान प्राप्त गरेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले स्वयंसेवी रक्तदाताहरुको अत्याधिक संख्या रहेको यस क्षेत्रले रगत नपाए बुटवल जानू भनेर अभियान चलाउदा सफल भएको बताए ।
यसबाट बुटवलको गरीमा बढाउँदै बुटवललाई नयाँ चिनारी दिएको उनको दाबी छ । महिला रक्तदाता बढाउने गरि अभियान समेत चलाउदै आएको उनले बताए । ‘स्वयंसेवी तरीकाले निःशुल्क दान गरेको रगत र रक्ततत्वलाई निःशुल्क वितरण हुनुपर्छ ।’– उनले भने । रगत व्यवस्थापनमा लाग्ने सम्पुर्ण लागत व्यवस्थापन सरकारबाट हुनुपर्ने र निःशुल्क वितरण गरिनुपर्ने उनी बताउँछन् ।
रक्त संचार सेवा रिर्पोटिङ, डाटावेस, विश्लेषण तथा अनुगमन शाखाका शाखा प्रमुख बसुन्धरा गौतमले यो वर्ष ४३८ संस्थाहरुबाट कुल ३४०७२ पिन्ट रगत संकलन भएको बताईन । लुम्बिनी प्रदेशका ४२ वटा पालिकाहरुले रेडक्रससंग निशुल्क रगत विरण सेवाको सम्झौतामा हस्ताक्षण समेत गरेको छ ।
वि.सं. २०२७ श्रावण ७ गते नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको स्थापना भएको हो । नेपाल रेडक्रस सोसाईटी स्थापना पछि वि.सं.२०३४ सालमा बुटवल ब्लड बैंकको स्थापना भएको थियो ।
त्यसैगरी हस्पिटल युनिटको रुपमा वि.सं.२०५७ बाट युनिभर्सल मेडिकल कलेज, सिद्धार्थनगर भैरहवामा समेत ब्लड बैंक स्थापना भएको थियो । वि.सं.२०६८ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त ब्लड कम्पोनेन्ट छुट्याउने मेसिनबाट बिरामीको सेवा पुर्याउँदै आएको छ ।