© २०२३
बुटवल, १३ साउन ।
बुटवलको ऐतिहासिक पर्यटकिय स्थल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिमा भित्रिने पर्यटकमध्ये भारतीय नागरिकको संख्या बढी देखिएको छ ।
इतिहास, संस्कृति र प्रकृतिसंगै समेटिएको बुटवल–२, फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानमा आर्थिक वर्ष २०८१÷०८२ मा ५ लाख ४७ हजार १ सय ९९ जना पर्यटकले भ्रमण गरेको मध्ये ७४ हजार ५ सय ९२ जना भारतीय नागरिक रहेका छन् । जसमा ७१ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् ।
उद्यान परिसरमा मंगलबार वार्षिक समीक्षा तथा आगामी योजनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष माधव प्रसाद नेपालले अध्ययन केन्द्रका रुपमा उद्यानलाई विकास गर्ने योजना रहेको बताए ।
बिगतका वर्षहरुमा भन्दा भारतीय पर्यटकहरु तथा अध्ययन अवलोकन गर्न आउने विद्यार्थीहरुको संख्या बढ्दै गएको हँुदा पनि यसमा आफूहरुले जोड दिएको उनले बताए । ‘केही विद्यार्थीहरुले आफ्नो उच्च शिक्षा अध्ययनका क्रममा उद्यान सम्बन्धी शोधपत्रहरु समेत तयार गर्न डाटा संकलनका लागि आउने गरेका छन’–उनले भने ।
उद्यानमा रहेको सेनवंशीय भग्नावशेष दरबारलाई संरक्षणसंगै दरबार संग्रहालय निर्माणको लागि यो वर्ष ३ करोड बजेट संघ सरकारबाट बिनियोजन भएको उनले बताए । यसैगरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरेको उनले बताए ।
उद्यानमा नर्सरी उत्पादनलाई व्यवसायिक बनाउँदै, दरवार क्षेत्रको संरक्षण, बगैंचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेष्टुरेन्ट, सिसाको पुल, जिपलाइनजस्ता संरचनाहरू निर्माणको समेत अध्ययन र तयारी भैरहेको उनले बताए ।
मुनामदन बगैंचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, एक्युरियम, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा मिडिया सहकार्य तथा रिसर्च फेलोसिप कार्यक्रम सञ्चालन जस्ता योजना अघि सारेको उनले बताए ।
कार्यक्रममा महासचिव युवराज घिमिरेले समितिबाट स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारसँग सहकार्यमा संरचनागत विकास गरिरहेको बताए । पर्याप्त बजेट अभाव, सामुदायिक वनसँग कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानीको आपूर्तिमा चुनौतीका विषय भएको उनले बताए ।
गत वर्ष उद्यानको आम्दानी ४ करोड ६ लाख रुपैयाँ तथा खर्च ३ करोड ९६ लाख रुपैयाँ भएको समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले बताए । यसैगरी मनोरञ्जन कर, आयकर र अन्य कर शीर्षकमा ४७ लाख रुपैयाँ भन्दा बढी भुक्तानी गरिएको उनले बताए ।
उद्यानमा अहिले १६ जना स्थायी तथा करार र २० जना दैनिक ज्यालादारी गरी ३६ जना प्रत्यक्ष रोजगारीमा छन् भने सटर, बाल उद्यान र अन्य सेवा सञ्चालनमार्फत झण्डै १५० जना परोक्ष रोजगारी सृजना भएको समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले बताए ।
मणिमुकुन्द सेन उद्यानलाई थप व्यवस्थित, शिक्षामैत्री र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन संयुक्त कार्ययोजना र सांस्कृतिक प्रदर्शन कार्यक्रमहरू आवश्यक रहेको पत्रकारहरुको कार्यक्रममा सुझाव दिए ।