© २०२३
काठमाडौं, १३ साउन ।
बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताका रूपमा रहेका बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएको हो।
दलभित्रको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्र परेको थियो भने विपक्षमा २२ जना सांसद उभिएका थिए। यसैका आधारमा उनी संसदीय दलको नेताबाट स्वतः पदमुक्त भएका हुन्।
सांसदहरूको बहुमत लामाविरुद्ध उभिएपछि अब उनको स्थानमा प्रदेशसभा सदस्य तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेतामा ल्याउने तयारी भइरहेको छ।
यद्यपि, लामाले मुख्यमन्त्री पद भने नछाड्ने अडान लिएका छन्। सरकार र संसदीय दल फरक कुरा भएको बताउदैँ मुख्यमन्त्री हुन दलको नेता हुनैपर्छ भन्ने नभएको उनको भनाइ छ ।
लामाले आफूमाथि पार्टीभित्रै षड्यन्त्र गरिएको आरोप लगाएका छन्। सबैलाई मिलाएर अघि बढ्ने प्रयास आफूले गरेतापनि भित्री जाल बुनेर मलाई हटाउने तयारी गरिएको उनले गुनासो गरे।
उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने प्रतिबद्धता जनाउँदै मत विभाजन भएर आफू त्यसमा पराजित भएपनि अब संसदीय दलको नेता नभएकोले मुख्यमन्त्रीबाट हट्नुपर्ने कुनै आधार नभएको बताए ।
लामा तत्काल राजीनामा नदिने अडानमा भए पनि कांग्रेसकै २२ सांसद बानियाँको पक्षमा उभिएकाले नयाँ सरकार गठनको बाटो खुलेको छ।