© २०२३
गुल्मी, १३ साउन ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्ड अन्र्तगत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन ।
डहरेमा सडक माथिबाट लेदो सहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्धहुँदा त्यस क्षेत्रबाट रिडीहुँदै वाग्लुङको बुर्तिबाङ्गसम्म आवतजावत गर्ने सवारी साधनहरु सञ्चालन हुन सकेका छैनन् ।
अवरुद्ध सडक सुचारु गर्नका लागि पहल भैरहे पनि लगातार पानी परिरहेको कारण सडक सुचार गर्न समस्या परेको प्रहरी नायव उपरिक्षक सारुले बताए । त्यसैगरी दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मी स्थित बडिगाड खोलामा पनि पानीको सतह बढ्दै जान थालेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षादको समयमा खोलाको टटीय क्षेत्रका वासिन्दाहरुलाई सर्तकता अपनाउँदै सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावस्यक काम बाहेक मानिसहरुलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एक सय ८० भन्दा बढी स्थानहरुलाई बाढी पहिरोको उच्च जोखिममा राखेको छ ।