© २०२३
बुटवल, १३ साउन ।
नेपाल रेडक्रस सोसाइटी ६० औ रक्तसंचार सेवा दिवसको अवसरमा सोमबार भैरहवामा एक कार्यक्रमका बिच सम्मान गरेको छ । कार्यक्रममा वर्षभरि एक सयभन्दा बढी पिन्ट रक्तदान गर्ने ६६ संघसंस्थाहरुलाई सम्मान गरेको हो ।
यो आर्थिक वर्ष नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीले ५ हजार ५६६ युनिट रगत संकलन गर्दै प्रथम स्थान हासिल गरेको छ । संस्थालाई नगद २० हजार रुपैया, सम्मानपत्रबाट सम्मानित गरिएको छ ।
यसैगरी नेपाल नियमित रक्तदाता संघ रुपन्देही भने १३७० युनिट रगत संकलन गर्दै दोस्रो १५ हजार रुपैया र सम्मानपत्र तथा नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा भने १२४८ युनिट रगत संकलन गर्दै तेस्रो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएको छ ।
एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका सभापति लाल प्रसाद पंगेनी (कृष्ण), रुरु गाउपालिकाका अध्यक्ष यदुनाथ ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य, चन्द्रकोट गाउपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरे ।
कार्यक्रममा रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले राजनैतिक दल, तिनका भातृ संगठन, व्यवसायिक संघसंस्था, गैर सरकारी संघसंस्था, बैंक तथा वितीय संघसंस्था, सहकारी संघसंस्था, धार्मिक संघसंस्था शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रमका संयोजक सुशील गुरुङले रक्तदानको महत्वबारे प्रकाश पार्दै यो वर्ष संस्थालाई प्रविधिमैत्री विकासमा जोड दिएको बताए । संस्थाका सबै कामलाई पेपरलेस र तथ्याकिकरण अनलाईनमा राख्ने ब्यवस्था भएको उनले बताए । यसैगरि वेभसाईड लन्च गर्ने कार्यसमेत भएको उनले बताए ।
हाल सोसाईटीबाट विपद ब्यवस्थापन, पारिवारिक पुर्नस्थापना, एम्बुलेन्स सेवा, विश्व रक्तदाता दिवस र रक्तसंचार दिवसमा संस्थागत कार्यक्रम आयोजना गर्दै आएको सोसाइटी, रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापाले बताए । ‘रक्तदान गरौ, आशा जोगाऔः संगै मिलि जीवन बचाऔ’ भन्ने नारासहित स्थापना भएको संस्था निरन्तर सामाजिक कार्यक्रम अग्रसर रहदै आएको छ । नेपालका पहिलो रक्तदाता दयाबिर सिह कंसाकार हुन ।