© २०२३
नेपालगञ्ज, १३ साउन ।
“पानी पर्दा आकाश होइन, आँखाले तटबन्ध हेर्थें,’’ खल्ला झगडियाका एक वृद्धको यो भनाई बर्सेनि बाढीको त्रासमा बाँचेका गाउँलेहरूको प्रतिनिधि आवाज हो । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ स्थित खल्ला झगडियालगायत आसपासका गाउँका बासिन्दा वर्षौंदेखि बाढीले सासै थाम्ने गरी त्रास दिइरहेको वास्तविकता सामना गर्दै आइरहेका थिए ।
२०७१ सालको विनाशकारी बाढीपछि राप्ती नदीको धार परिवर्तन भएसँगै यो गाउँ मात्रै होइन, देउपुर, पिप्रहवा, सोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजभगवानपुर, नवाजी र कुडुवा गाउँसम्म डुवानको जोखिममा परेका थिए ।
त्यसयता वर्सेनि बाढी आउँदा गाउँमा त्राहिमाम मच्चिन्थ्यो । तीन वर्षअघि आधा भत्किएको तटबन्ध हरेक वर्ष बाढी आउँदा अझै कमजोर बन्दै गयो ।
खल्ला झगडियामा वर्षा सुरु हुनासाथ तटबन्ध हेर्न पुग्ने गाउँलेहरूको अनुहारमा डर देखिन्थ्यो। वडाध्यक्ष रामलखन थारु पनि राति पानी परेपछि निद्रा बिर्सेर तटबन्ध पुग्थे, कतै फेरि गाउँ डुब्ने हो कि भनेर ।
२०७९ सालमा आएको बाढीले तटबन्धको झण्डै आधा भाग भत्काइदियो । त्यसपछिको वर्षातमा ‘अब पूरै गाउँ बग्ने हो कि?’ भन्ने डर गाउँभर फैलिएको थियो । त्यसपछि त स्थानीयवासीले सरकार र सम्बन्धित निकायलाई पटक–पटक गुहार गरे ।
कहिले मर्मतका लागि माग, कहिले पक्की तटबन्धको योजना । तर सुनुवाइ भएन । अन्ततः यो वर्ष जनाताको तटबन्ध कार्यालय, लमही–दाङले आपतकालीन तटबन्ध निर्माण सुरु ग¥यो ।
जेठ महिनाको अन्त्यदेखि सुरु गरिएको काम अहिले पनि भइरहेको छ । साई माँ दूर्गा भेन्सी जेभी नामक निर्माण कम्पनीले ६ करोड ५० लाख रुपैयाँको ठेक्कामा पक्की तटबन्ध बनाउने कार्य जिम्मा लिएको छ ।
तर वर्षामा तटबन्ध निर्माण सम्भव नहुने भएकाले, डुबान रोक्न तत्कालका लागि आपतकालीन तटबन्ध बनाउने कार्य अघि बढाइएको हो ।
तटबन्ध कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार खल्ला झगडिया र जोरैयामा अस्थायी तटबन्ध बनाइएकाले यस वर्ष गाउँ डुबानमा पर्ने छैन ।
गाउँका वृद्ध–वृद्धा, बालबालिका र किसान अब ढुक्क छन् । स्थानीय दूर्गा पाण्डे भन्छन्, “अहिलेसम्म पानी पर्दा मुटु ढुकढुक गथ्र्यो — तटबन्ध भत्किन्छ कि भनेर । अब ढुक्क भइयो । तटबन्ध बन्यो, बाढीको डर ट¥यो ।’’
आपतकालीन तटबन्धमा बाँस, बालुवाका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ । धेरै संख्यामा मजदुर लगाएर निर्माण कार्य भइरहेको छ । यो प्रयासले गाउँलेहरूको आत्मबल पनि बढाएको छ ।
खल्ला झगडियामा तटबन्ध भत्किने बित्तिकै देउपुर, पिप्रहवा, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ को सोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजभगवानपुर र वडा नम्बर ५ को नवाजी गाउँ, भोजपुर तथा डुडुवा गाउँपालिकाको वडा नम्बर १ को कुडुवा गाउँ डुवानमा पर्छन् ।
२०७१ सालको बाढी बाँकेको इतिहासमै सबैभन्दा ठूलो बाढी मानिन्छ । त्यसयता २०७४ सालमा पनि ठूलो बाढी आएको थियो, तर पछिल्ला वर्षहरूमा भने त्यस्तो ठूलो बाढी आएको छैन ।
यद्यपि वर्षाको अनिश्चितता र नदीको बर्खे वहाव हेर्दा सावधानी जरुरी छ । यही कारणले अहिले बनाइएका आपतकालीन तटबन्ध र आगामी पक्की तटबन्धले भविष्यमा ठूलो क्षति हुनबाट जोगाउने अपेक्षा गरिएको छ ।