© २०२३
काठमाडौं, १३ साउन।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको पहुँचबाहिर ठूलो परिमाणमा बजेट परिचालन भइरहेको आरोप लगाएका छन्।
मंगलबार ललितपुरमा आयोजित माओवादी केन्द्र समाजकल्याण विभागको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र गैरसरकारी संस्था (एनजीओ) हरूको नाममा ठूलो मात्रामा रकम नेपाल भित्रिने गरेको उल्लेख गरे।
यस्ता रकमहरू सरकारको प्रत्यक्ष नियमन र अनुगमनबाहिर छन्, जसका कारण समानान्तर ढंगले बजेट खर्च हुने अवस्था देखिएको उनले दाबी गरे ।
नेपाल जस्तो गरिब देशमा शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न यस्ता लगानीलाई एक प्रकारको रणनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको प्रचण्डको भनाइ छ ।
उनले शक्ति राष्ट्रका दातृ निकायहरूबाट प्राप्त अनुदान र सहयोग विशुद्ध मानवीय उद्देश्यका लागि मात्रै नभई, राजनीतिक र रणनीतिक स्वार्थसहित आउने गरेको दाबी गरे।
विदेशी सहयोग सधैं निस्वार्थ नहुने भन्दैँ त्यसभित्र उनीहरूको स्वार्थ र प्रभुत्व विस्तारको रणनीति लुकेको प्रचण्डले स्पष्ट पारे।
उनले यस्ता गतिविधिलाई राज्यको निगरानी तथा नियमनमा ल्याउनु अपरिहार्य रहेकोमा जोड दिएका थिए।