© २०२३
गुल्मी, १२ साउन ।
गुल्मीमा क्लबद्वारा मन्दिर र चौतारो निर्माण गरिएको छ । इस्मा गाउँपालिका –५ स्थित इस्मारजस्थलमा रहेको द–ग्यासेक्सी युवा क्लबले गाउँमा स्थानीय युवाहरूको पहल र सक्रियतामा मन्दिर र चौतारो निर्माण गरेको हो ।
२०६६ सालमा स्थापना भएको क्लबले जीर्ण अवस्थामा पुगेको लालकुमारी मन्दिर संरक्षणका लागि २८ जना युवाहरू मिलेर २५ दिन श्रमदान गरेर मन्दिरको पुनर्निर्माण गरेको हो ।
मन्दिर प्लास्टर, रङरोगन, बिद्युत् जडान, दानपात्र, रिटेलिङ् वाल, गेट र रेलिङसहितको सिँढी निर्माण गरिएको क्लबका पूर्व अध्यक्ष विकाश विष्टले जानकारी दिएका छन् ।
क्लबले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यवस्थापनका सामग्रीको लागि तुलसी बस्नेतको स्मृतिमा मुमा बस्नेत सहितको परिवारले ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।
स्थानीय समाजसेवी स्वर्गीय चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चार सुरमा काँसको पाता उपलब्ध गराएको पूर्व अध्यक्ष विष्टले बताए ।
मन्दिर व्यवस्थापनको अभियानमा एक सय २८ जनाले स्तस्फुर्त रूपमा आर्थिक सहयोग प्रदान गरेका थिए । मन्दिर पुन निर्माणका लागि अभियानमा सङ्कलन भएको तीन लाख ५२ हजार ६२३ रुपैयाँ मध्ये मन्दिरमा दुई लाख २७ हजार ७९० रुपियाँ खर्च भएको क्लबका अध्यक्ष डेम बहादुर विष्टले जानकारी गराएका छन् ।
उक्त क्लबले ब्याडी पोखरी र दोबाटे डाँडामा चौतारी निर्माण तथा अँधेरीखोला, सिख्रे, भिरपानी, ओख्ले र रातापोखरामा पँधेरो सरसफाइ गरिँदै आएको अध्यक्ष विष्टले बताए ।
क्लवले प्रत्येक वर्ष ज्येष्ठ नागरिक सम्मान, स्थानीय सिद्ध प्राविका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग, तीज गीत प्रतियोगिता लगायतका क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।
अहिलेसम्म निर्माण, मर्मत र सरसफाइ गरिएका सार्वजनिक संरचना स्वतःस्फूर्त रूपमा श्रमदानबाट निर्माण गरिएको हो । सामाजिक कामका लागि आजभोलि श्रमदान गर्ने मानिसहरू बिरलै मात्रमा भेटिन्छन् ।
तर क्लबले सञ्चालन गरेको उक्त अभियानमा भने सानादेखि पाका उमेर समूहसम्मका व्यक्तिहरूको महत्त्वपूर्ण सहयोग रहेको बताइएको छ ।