© २०२३
अब नागरिक एपमार्फतै रोजगारीका अवसर हेर्न, योग्यता अनुसार खोज्न र आवेदन दिन सकिनेछ।
योजनाको औपचारिक उद्घाटन मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले संयुक्त रूपमा गरे।
यो सुविधा प्रयोग गर्न नागरिक एपको संस्करण २.०.८३ मा अपडेट गर्नुपर्नेछ।
काठमाडौं, १२ साउन ।
रोजगारी खोज्ने र दिने दुबै पक्षलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यले सरकारले ‘श्रम संसार’ पोर्टललाई नागरिक एपसँग एकीकृत गरेको छ।
अबदेखि नागरिक एपमार्फत नै रोजगारीका अवसर हेर्न, योग्यता अनुसार खोज्न र आवश्यक कागजातसहित सोही एपबाट आवेदन दिन सकिनेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको यस पोर्टलको नागरिक एपसँग एकीकरण भएसँगै रोजगारीसँग सम्बन्धित सेवा प्रवाहलाई अझ सहज, पारदर्शी र झन्झटरहित बनाउने प्रयास गरिएको छ।
यस योजनाको औपचारिक उद्घाटन मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा मन्त्री भण्डारीले यो नयाँ सुविधा ‘डिजिटल नेपाल’ अभियानलाई सार्थक बनाउन र नागरिकमैत्री शासन प्रवर्द्धन गर्न सरकारको ठोस पहल भएको बताए।
उनले राज्यले प्रदान गर्ने धेरै सेवा लक्षित वर्गसम्म नपुगेको अवस्थालाई समाधान गर्न डिजिटल माध्यम महत्वपूर्ण हुने उल्लेख गरे।
रोजगारी खोज्नुपर्ने बाध्यताबाट युवाहरूलाई मुक्ति दिलाउन प्रविधिको प्रयोगलाई उनले सकारात्मक रुपमा लिए।
नयाँ व्यवस्था अनुसार, अब सेवाग्राहीहरूले विभिन्न वेबसाइटहरूमा जानुपर्ने वा आवेदन दिन कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य हुनेछ।
सबै प्रक्रिया नागरिक एपभित्रै समेटिने भएकाले प्रयोगकर्ताका लागि सजिलो हुने अपेक्षा गरिएको छ।
यस सेवा उपयोग गर्नका लागि भने नागरिक एपको भर्सन २.०.८३ मा अद्यावधिक गर्नुपर्नेछ, जुन एन्ड्रोइड र आइओएस दुबै प्लेटफर्ममा उपलब्ध छ।
मन्त्रालयले नागरिकहरूलाई समयमै एप अपडेट गरी नयाँ सुविधा प्रयोग गर्न आग्रह गरेको छ।