© २०२३
काठमाडौं, १२ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले रेबिज र सर्पदंश उपचारका लागि आवश्यक औषधि देशका सातै प्रदेशमा आपूर्ति गरेको छ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, यसअघि नै खरिद प्रक्रिया सम्पन्न भइसकेका औषधिहरू प्रदेश सरकारका स्वास्थ्य संस्थामा वितरण गर्नका लागि सम्बन्धित प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइसकिएको छ।
रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधिको अभाव भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले तत्काल आपूर्तिको व्यवस्था मिलाउन मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए। उनले आपूर्ति प्रक्रिया छिटो गर्न र भविष्यमा अभाव नहोस् भनेर आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका थिए।
स्वास्थ्य सेवा विभागले मन्त्रीको निर्देशन अनुसार सातवटै प्रदेशमा औषधि आपूर्ति गरेको हो। विभागका अनुसार रेबिजविरुद्धको ५१ हजार १८० भायल खोप प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइएको छ।
सबैभन्दा बढी आपूर्ति बाग्मती प्रदेशमा गरिएको छ, जहाँ १० हजार ८० भायल रेबिजविरुद्धको खोप र सर्पदंशविरुद्धको एक हजार भायल भेनम उपलब्ध गराइएको छ।
सर्पदंशको समस्या बढी देखिने मधेस प्रदेशमा सर्पदंशविरुद्धको २ हजार ५ सय भायल भेनम र करिब ५ हजार भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मागका आधारमा अन्य प्रदेशहरूमा पनि औषधि आपूर्ति गरिएको जानकारी दिए।
विभागले हाल आपूर्ति गरिएको औषधि दुई महिनाभित्र चार गुणासम्म बढाइने योजना बनाएको समेत जानकारी दिएको छ।