सोमबार पनि सेयर बजार निरन्तर गिरावटमा देखिएको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.०७ अंकले घटेर २९६२ अंकमा झरेको छ।
बजारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यमा समायोजन नहुँदा १२ अंकको बढोत्तरी देखिएको थियो, तर समायोजनपछि समग्रमा २ अंकले घटेको हो।
बजार कारोबार खुलेदेखि नै ओरालो लागेको थियो र दिनको न्यूनतम १२ः३८ बजे २९१८ अंकसम्म झरेको थियो। त्यसपछि केहि सुधार आए पनि अन्तिम समयमा भने बजार झिनो अंकले रातोमा बन्द भयो।
कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १९ अर्ब ३६ करोड रुपैयाँ मात्रै कारोबार भयो।
सेयर समूहहरूमध्ये विकास बैंक र व्यापार समूह ३ प्रतिशतभन्दा बढीले बढेका छन्। व्यापार समूह ३.२४ प्रतिशत र विकास बैंक समूह ३.०४ प्रतिशतले वृद्धि भएको छ। साथै, फाइनान्स २.७५, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशतले पनि वृद्धि देखिएको छ।
तर बैंकिङ्ग, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहमा गिरावट आएको छ। बैंकिङ्ग ०.८९ प्रतिशत र होटल तथा पर्यटन ०.२८ प्रतिशतले घटेका छन्।
समता घरेलु लघुवित्त र सान्भी इनर्जीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सान्भीको मूल्य लगातार बढ्दै ६९८.६२ रुपैयाँ पुगेको छ। ट्रेड टावरको मूल्य पनि ९.५३ प्रतिशतले बढेर ७८०.९४ रुपैयाँ पुगेको छ।
हिमालयन डिस्टिलरी ५.८०, सांग्रिला डेभलपमेन्ट बैंक ५.७३ प्रतिशतले मूल्य बढाएका छन् भने विन्ध्यवासिनी हाइड्रोपावर ८.४९, ग्रिन भेन्चर्स ५.०८ र उन्नति सहकार्य लघुवित्त ४.४१ प्रतिशतले मूल्य घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर रहेका छन्। बजारको कुल पूँजीकरण ४९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।