© २०२३
काठमाडौं, १२ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मधेसको खडेरी समस्या समाधानका लागि सरकारले देखाएको सतही प्रयासप्रति कटाक्ष गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव राख्दै सरकारको ध्यान समस्या समाधानतर्फ नगएकोमा असन्तुष्टि व्यक्त गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सांसद श्रेष्ठले खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जाँदैमा मधेसमा पानी नआउने बताउदैँ यसमा चुरेको कुरा जोडिन्छ भन्दैँ व्यङ्ग्य प्रहार गरिन । प्रधानमन्त्री ओली साउन ७ गते हेलिकप्टरमार्फत मधेसको खडेरी प्रभावित क्षेत्रको अवलोकनका लागि गएका थिए।
श्रेष्ठले चुनावमुखी सोचबाट माथि उठेर समस्याको दिगो समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिइन्।
उनले सार्वजनिक जग्गामा सरकारको नियतप्रति पनि शंका जनाउँदै त्यसतर्फ आँखा नलगाउन आग्रह गरिन्। साथै, उनले वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित केही कानुनी धाराहरू खारेज गर्न मागसमेत गरिन्।