© २०२३
नेपालगञ्ज, १२ साउन ।
पश्चिम क्षेत्रको गौरवशाली स्वास्थ्य संस्था भेरी अस्पताल नेपालगञ्जले आज आफ्नो १३५ औं स्थापना दिवस भव्य समारोहका साथ मनाएको छ ।
वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले स्पतालको लामो सेवायात्रालाई सम्झनुका साथै योगदानकर्ताहरूप्रति सम्मान व्यक्त गरे । सो उनले भेरी अस्पताललाई यस क्षेत्रकै पहिचानको केन्द्रका रूपमा वर्णन गर्दै, १३६ औं वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
उनले भेरी अस्पतालको विकासलाई अझ प्रभावकारी बनाउन सरकार, जनप्रतिनिधि र समुदायबीच समन्वय आवश्यक रहेको धारणा राखे । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालको हालसम्मको प्रगति, चुनौती र आगामी योजना सम्बन्धी प्रस्तुति दिएका थिए ।
स्थापना दिवसको अवसरमा अस्पतालको दीर्घ सेवामा समर्पित व्यक्तित्वहरूको योगदानलाई कदर गर्दै, २५ वर्षभन्दा बढी सेवा गरेका स्वास्थ्यकर्मी तथा सेवा निवृत्त पूर्व मेसुहरूलाई दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सम्मानित हुनेमध्ये डा. मोहीउद्दिन किदवाई, डा. श्यामसुन्दर यादव, डा. विनोद कुमार खेतान, डा. पिताम्बर सुवेदी, डा. वीरेन्द्र बहादुर चन्द र डा. रुपानन्द अधिकारी छन् ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले, भेरी अस्पतालको वर्तमान अवस्थामा आइपुग्न यी व्यक्तिहरूको योगदान अतुलनीय रहेको भन्दै सम्मानका शब्द व्यक्त गरे । उनले भने, “हाम्रा जेष्ठ चिकित्सक र कर्मचारीहरूले राखेको जग नै आजको भेरी अस्पताल हो, उनीहरूप्रति सच्चा कृतज्ञता व्यक्त गर्न हामीले सम्मान गरेका हौं ।”
भेरी अस्पतालले आफ्नो १३५ वर्षे इतिहास पार गरेर १३६ औं वर्षमा पाइला टेकेको यो क्षणलाई संस्थागत स्मृति र प्रेरणाको रूपमा लिइएको छ । भेरी अस्पतालले लुम्विनी, कर्णाली र सुदुरपसिश्चमका लाखौं नागरिकहरूको स्वास्थ्यको भरोसा बनेको छ ।
कार्यक्रमको समापनमा सबैले अस्पतालको निरन्तर प्रगति, सेवा विस्तार, प्रविधि अनुकूल सुधार र जनमैत्री स्वास्थ्य सेवा प्रणालीको विकासमा प्रतिबद्धता जनाए।