© २०२३
बर्दिया, १२ साउन ।
बर्दियाको भौरा क्षेत्र अन्तर्गत पर्ने राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट कक्षा १० (एसईई) पास गरेपछि धेरैजसो विद्यार्थी उच्च शिक्षाका लागि बाहिरिएका छन्।
यो प्रवृत्ति फेसन र रहरको रूपमा विकास हुँदै गएकाले स्थानीय सरकारले अभिभावकहरूलाई आफ्नै क्षेत्रमा उपलब्ध शिक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।
राजापुर नगरपालिकाका नगरप्रमुख दीपेश थारुले पालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको उल्लेख गर्दै, आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराइएको जानकारी दिए।
उनले नगरले गरेको लगानीको भरपुर फाइदा लिन अभिभावक तथा विद्यार्थीहरूलाई आग्रह गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायका अनुसार, राजापुर क्षेत्रमा कक्षा ११ र १२ मा शिक्षा, मानविकी र वाणिज्य संकायका विषयहरू अध्ययन गर्न सकिन्छ।
विज्ञान सङ्काय भने उपलब्ध छैन। यद्यपि, अन्य विषय अध्ययन गर्न नेपालगन्ज वा काठमाडौँजस्ता सहर जानुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ।
पूर्व शिक्षक तथा समाजसेवी कुमार लामिछानेले किशोरावस्थाका विद्यार्थीहरू साथीभाइको लहैलहैमा लागेर गलत बाटोमा जान सक्ने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिए।
छोराछोरी जहाँ पढे पनि उनीहरूको अवस्थाबारे दैनिक जानकारी लिन अभिभावकलाई सुझाव दिँदै उनले सहरका निजी विद्यालयको बाह्य रूपप्रति लोभिएर नजिकको विद्यालयलाई उपेक्षा नगर्न आग्रह गरे।