© 2026
काठमाडौं, १२ साउन ।
महिलाको अस्थायी गर्भनिरोधक साधनका रूपमा प्रयोग हुने ‘सङ्गिनी सुई’ कुकुरमा लगाउने प्रवृत्ति बढ्दो छ, जुन पशु अधिकारको दृष्टिकोणले गैरकानुनी मात्र होइन, खतरनाक पनि मानिन्छ।
यो सुई औषधी पसलहरूमा सजिलै पाइने र सम्बन्धित सरकारी निकायबाट प्रभावकारी अनुगमन नहुनुका कारण यसको दुरुपयोग बढेको हो। पशु स्वास्थ्यकर्मीहरूका अनुसार, यसले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको छ।
केन्द्रीय रेफरल पशु चिकित्सालयका डा. प्रकाश अधिकारीका अनुसार, काठमाडौँ उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ। तर कुकुरधनीहरूको अज्ञानता, र कतिपय पशु प्राविधिकको गलत सल्लाहका कारण महिलालाई लक्षित गरी बनाइएको तीन महिनाको गर्भनिरोधक सुई — ‘सङ्गिनी’ — पोथी कुकुरहरूलाई लगाइने गरेको पाइएको छ।
अस्पतालमा दैनिक उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरको समस्या देखिनुको कारण सङ्गिनी सुईकै असर रहेको डा. अधिकारी भन्छन । पहिले यस्तो समस्या निकै कम देखिन्थ्यो, तर पछिल्लो समय यसको दुरुपयोग बढेपछि कुकुरमा यस्ता स्वास्थ्य समस्या व्यापक रूपमा देखिन थालेको उनले बताए।
उनका अनुसार, कुकुरधनीहरूले आफैं औषधी पसलबाट सुई किनेर लगाइदिन अनुरोध गर्छन्, र औषधी पसलहरूबाट पनि सजिलै पाइने भएकाले यसले थप जोखिम बढाएको छ।
कुकुरमा ‘सङ्गिनी सुई’को असर
यो सुई महिलाका लागि मात्र बनाइएको हो। कुकुरमा यसको प्रयोगले डिम्बाशयमा मासु पलाउने (सिस्ट), पाठेघरमा सङ्क्रमण (पायोमेट्रा), खानामा रुचि कम हुनु, पेट फुल्नु, रक्तअल्पता, योनिबाट गन्हाउने फोहोर पदार्थ निस्कनु जस्ता समस्याहरू देखिन्छन्।
साथै, समयमै शल्यक्रिया नगरे कुकुरको ज्यानसमेत जान सक्छ। हर्मोन असन्तुलनका कारण तौल बढ्नु, रौँ झर्नु, स्तन ग्रन्थीमा क्यान्सर हुने सम्भावना पनि यसले बढाउँछ।
डा. अधिकारीका अनुसार, कुकुरका लागि अस्थायी गर्भनिरोधकको कुनै पनि सुरक्षित उपाय छैन। अनावश्यक प्रजनन रोक्नका लागि सबैभन्दा सुरक्षित र स्थायी विकल्प बन्ध्याकरण नै हुने उनले बताए।