Butwal Today

गाजामा हवाई मार्गबाट राहत सामग्री खसालियो, तर सहायता अपुग

११ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ११ साउन ।

गाजामा हवाई मार्गबाट खाद्यान्न लगायतका राहत सामग्री खसालिएको छ।

बीबीसीको सूचनाअनुसार, इजरायली सेनाले गाजामा हवाई जहाजमार्फत राहत पठाइसकेको छ भने जोर्डन र संयुक्त अरब इमिरेट्सले पनि चाँडै हवाई मार्गबाट सहायता पुर्याउने तयारी गरिरहेका छन्। यद्यपि, यी प्रयासहरू भोकमरीको समस्या समाधान गर्न पर्याप्त छैनन्।

अन्तर्राष्ट्रिय उद्धार समितिका अधिकारी सियारान डोनेलीले हवाई सहायता कहिल्यै पर्याप्त नहुने बताएका छन । जोर्डन र इजिप्टमा तयार भएका ६ हजार ट्रक राहत सामग्री राजनीतिक अवरोधका कारण गाजामा पुर्याउन समस्या भइरहेको छ। यसैबीच, सयभन्दा बढी संस्था र अधिकार समूहहरूले गाजामा सामूहिक भोकमरीको चेतावनी जारी गरिसकेका छन्।

गाजाको करिब एक तिहाइ जनसंख्या केही दिनदेखि भोकै छन भने ९० हजार महिला तथा बालबालिकालाई आपतकालीन सहायताको आवश्यक रहेको विश्व खाद्य कार्यक्रमले स्पष्ट पारेको छ । राहत वितरण प्रक्रियामा झगडा, घाइते हुने र ज्यान गुमाउने जोखिम समेत बढिरहेको छ। त्यस्तै, गाजामा खाद्यान्नसँगै पानीको अभाव पनि गम्भीर समस्या बनेको छ।