Butwal Today

बजार सुनिश्चितता भएपछि दुग्ध उत्पादनमा फड्को

११ श्रावण २०८२, आइतबार
अ+
अ-

लमही, ११ साउन ।

गढवा दाङको सबैभन्दा बढी दूध उत्पादन हुने गाउँपालिका हो । यहाँका किसानले पुस्तौँदेखि भैंसीपालन गर्दै आएका छन् । उनीहरूले ठुलो परिमाणमा दूध उत्पादन गरे पनि आवश्यक बजारको अभावमा मूल्य पाउन सकिरहेका थिएनन् ।

यहाँका किसानले दूध दही ठुलो भाँडोमा राखेर नजिकका बजारमा डुलाएर बिक्री गर्दै आएका थिए । जसले गर्दा एकातिर किसानले दूध दही बिक्री गर्न सास्ती भोग्दै आएका थिए भने अर्कोतिर मूल्य पाउन सकिरहेका थिएनन् ।

अहिले गढवा गाउँपालिकाले स्थानीय सहकारीमार्फत दूधको बजारीकरण थालेपछि डुलाएर बेच्नुपर्ने किसानको बाध्यता मात्रै हटेको छैन, घरदैलोमै पहिलेभन्दा लिटरमा २० रुपैयाँसम्म बढी मूल्य पार्न सफल भएका छन् ।

स्थानीय उत्पादन प्रवद्र्धनमार्फत् जनताको आयआर्जन बृद्धि गर्ने गाउँपालिकाको यो एक महत्त्वपूर्ण शुरुवात भएको गढवाका कृषक अघुवा रामदयाल यादब बताउँछ ।

गढवाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने गरी कार्यक्रम सञ्चालन हुने पालिकाका अध्यक्ष एमनारायण पोख्रेल बत्ताउँछन् । गढवा गाउँपालिकामा पाँच सयभन्दा बढी व्यावसायिक दूध उत्पादक किसान छन् । उनीहरूले दैनिक करिब दुई हजार लिटर दूध उत्पादन गर्दै आएका छन् ।

अब यी किसानले पालिकाकै गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत सरकारी मूल्यअनुसार दूध बिक्री गर्न पाएपछि विशेषतः गढवाको र समग्र दाङकै दूधको बजारीकरणमा नयाँ आयाम थपिएको छ ।

दुग्ध सङ्कलन केन्द्रमा दुई हजार लिटर दूध अटाउन सक्ने चिलिङ भ्याट जडान गरिएको छ र सङ्कलित दूध जिल्ला बाहिर पठाउने सम्झौतासमेत भएको पालिका अध्यक्ष पोख्रेलले बताए ।

दूधको सहज बजारीकरण र मूल्य सुनिश्चितताका लागि गाउँपालिकाको यो एक महत्त्वपूर्ण र अत्यावश्यकीय कदमले जनताको जीवनस्तर सुधार गर्ने महत्त्वपूर्ण कार्य भएको नागरिक समाज गढवाका सयोजक खगेश्वर शर्मा बत्ताउँछन् ।

नेपालमा वार्षिक दूध उत्पादन लगभग १८ लाख मेट्रिक टन पुगेको जनाइएको छ ।  नेपाल दूध उत्पादनमा आत्मनिर्भर बन्ने आशालाग्दो सम्भावना छ तर उत्पादनको शतप्रतिशत दूध बजारसम्म आइरहेको छैन ।

उनीहरूले दूध उत्पादनको मात्रा बढाउन सक्ने भए पनि बजारको अभावका कारण थप आँट गरिरहेका छैनन् । सरकारले गर्ने यस्तो प्रयासले किसानको आत्मविश्वास बढाउँदै कृषिमा लाग्न समेत थप प्रोत्साहन गर्दछ ।