© २०२३
काठमाडौँ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक एआई च्याट बोटले यस समस्याको समाधान गर्न सक्ने विश्वास व्यक्त गरे। मन्त्री भण्डारीले भने, “अब श्रमिकले दूतावाससँग फेसबुक, ह्वाट्सएप वा वेबसाइटमार्फत सिधै बोलेर वा लेखेर प्रश्न गर्दा तुरुन्तै उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको हो।”
नेपाली दूतावासमा अत्यधिक फोन आउने तर कर्मचारी सङ्ख्या कम भएकाले फोन नउठ्ने जस्ता समस्याको समाधानका लागि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैर आवासीय नेपाली सङ्घबिचको सहमतिअनुसार ‘श्रम सञ्चार’ एपमा एआई च्याट बोट र कल सेन्टर प्रणाली एकीकरणको अन्तिम चरणमा पुगेको छ।
सोही कार्यक्रममा गैर आवासीय नेपाली सङ्घको प्राविधिक टोलीले मन्त्री भण्डारीसहित श्रम मन्त्रालयका अधिकारीहरूलाई डेमो प्रस्तुति दिएको थियो।
श्रम मन्त्रीसँगको छलफलमा यस प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः सबै देशहरूमा विस्तार गर्दै लैजाने सहमति भएको छ।
“श्रम सञ्चार” एपमा एआई च्याट बोट र कल सिस्टम एकीकृत गर्दा विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने तर कर्मचारी सङ्ख्या अत्यन्त न्यून भएका कारण सिर्जिएको समस्या समाधान हुने विश्वास गरिएको छ।
त्यसै गरी, यो डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत पाउन सक्ने, र प्रवासमा नेपालीहरूले भोग्दै आएका विभिन्न समस्याहरूको समाधान गर्न सकिने अपेक्षा गरिएको छ।
उक्त अवसरमा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष महेशकुमार श्रेष्ठले मन्त्री शरतसिंह भण्डारी र परराष्ट्र मन्त्री आरजु राणा देउवाको सकारात्मक पहलप्रति आभार व्यक्त गरेका छन्।