© २०२३
काठमाडौं, ११ साउन।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको अध्यक्ष पदमा आँखा गाडेकै कारण पार्टी केन्द्रीय कमिटीले कदम चाल्न बाध्य भएको स्पष्ट पारेका छन्।
बालुवाटारमा कर्णाली प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एमाले नेताहरूसँगको छलफलमा बोल्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरणमार्फत राजनीति सक्रियता सुरु गर्न खोजेको विषय आफूहरूले कल्पना नगरेको दाबी गरे।
उनका अनुसार, राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी भण्डारीले पुनः पार्टी नेतृत्वमा आकांक्षा राख्नु आफैंमा अचम्मको विषय हो।
ओलीले भण्डारीप्रति सम्मान व्यक्त गर्दै भने कि उनी देशकै अभिभावकका रूपमा रहनुपर्ने व्यक्ति हुन्, न कि सक्रिय पार्टी राजनीतिमा फर्कने पात्र।
उनले भने, “पार्टी अध्यक्षको आकांक्षा देखिएपछि हामीले केन्द्रीय कमिटीबाट निर्णय गर्नु परेको हो। यस्तो निर्णय हामीले सोचेका थिएनौं।”
ओलीका अनुसार, भण्डारीको पछिल्लो निर्णयले स्वयम् उनको कद घटाएको छ।
उनले भण्डारीलाई संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा व्याख्या गर्दै भने, “लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धीको प्रतिनिधित्व गर्ने व्यक्तिले पार्टी सदस्यता विवादले सिर्जिएको बखेडाले आफैँलाई सानो बनाएको छ।”
बैठकमा ओलीले पार्टीभित्र देखिएको असन्तोषलाई सामान्य ‘हावाको झोक्का’ भन्दै त्यसमा अल्मलिनु नहुने तर्क गरे।
उनले सबै नेताहरूलाई आ-आफ्नो जिम्मेवारीमा केन्द्रित भई पार्टी निर्माणमा लाग्न निर्देशन दिए।
उनले स्मरण गरे कि एमालेजस्तो पार्टीले ऐतिहासिक संघर्ष र चुनौती पार गर्दै अहिलेको हैसियत बनाएको हो, र अहिले देखिएको परिस्थिति गम्भीर संकट नभई सामान्य परिस्थिति मात्रै हो।
ओलीले पार्टी नेतृत्वमा रहेको बेला सधैं एमालेलाई जनताको पक्षमा उभ्याउने, राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ अघि बढेको उल्लेख गरे।
बैठकमा उनले आगामी ०८४ सालको निर्वाचनलाई ध्यानमा राख्दै पार्टीले पहिलो शक्ति बन्ने रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए।