© २०२३
दाङ, १० साउन ।
घोराही उपमहानगरपालिका –१४ का धिरज चौधरी २८ वर्षका भए । उनलाई सामान्य पलम्बरको काम आउँथ्यो तर धेरै आउँदैनथ्यो । घोराही उपमहानगरपालिकामा संचालन भएको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना(इन्स्योर) ले मावि रझेनामा संचालन गरेको १० महिने पलम्वर तालिम लिए र तीन महिना ओजेटी पनि गरे । तालिम पछि उनलाई खाली बस्नु परेको छैन । “दैनिक काम पाइने गरेको छ”– उनले भने, “हातमा सीप भएपछि आम्दानी पनि बढेको छ ।” मासिक ३०÷४० हजार आम्दानी हुने गरेको उनको भनाई छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउने रैछ । “विदेश जाने की यही केही गर्ने भन्ने निश्चित थिएन तर तालिमले स्वदेशमै बस्ने वातावरण बनायो, अब यसलाई निरन्तर दिएर आम्दानी गर्छु”– उनले भने ।
घोराही उपमहानगरपालिका– १४ नयाँबसपार्कका बसन्तकुमार यादव कक्षा १२ पास गरेका छन् । घरछेउँमा इलेक्ट्रीक पसल संचालन गरेको तीन वर्ष भएको थियो । तालिमभन्दा अगाडि पसलमा भएका नयाँ सामान बिक्री गर्ने काम मात्रै हुन्थ्यो । आर्थिक वर्ष २०८०÷८१ मा घोराही उपमहानगरपालिकामा संचालन भएको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना(इन्स्योर)बाट मावि बालबिकासमा सञ्चालन भएको १० महिने इलेक्ट्रीसियन तालिम लिए । तालिमपछि उनले पुराना सामग्री मर्मत गर्न र वाइरिङ गर्न जान्ने भएका छन् । मासिक ४०÷५० हजार आम्दानी हुने गरेको उनले बताए । हातमा सीप भएपछि पैसा यही छ । काम खोज्न अर्काको देशमा जानु नपर्ने उनले बताए ।
चालु आर्थिक वर्षदेखि कुक र टेलिकम टेक्निसियन विषयको तालिम ४० जनाले लिइरहेको घोराही उपमहानगरपालिकामा संचालन भएको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना(इन्स्योर) परियोजनाका फोकलपर्सन मोतीराम न्यौपानेले जानकारी दिए । उनले भने, “घोराही उपमहानगरपालिका भित्रका १८ वटा सामुदायिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन भैरहेको छ ।”
कक्षा ९ र १० का विद्यार्थीहरूलाई शिक्षाको संसारबाट कामको संसारसँग परिचित एवं अभ्यास गराउने “स्कूल टु ओर्क ट्रान्जिसन” कार्यक्रम अन्तर्गत घोराहीका छ वटा सामुदायिक विद्यालयमा कार्यक्रम संचालन भएको जानकारी दिए ।
आर्थिक वर्ष २०७८÷७९ मा हलुका सवारी मेकानिक सीप परीक्षण १२ जनाले तालिम लिएकोमा ५ जनाले सीप उत्तीर्ण गरेका थिए । आर्थिक वर्ष २०७९÷८० मा १८ जनाले पलम्बरको तालिम लिएकोमा ११ उत्तीर्ण भएका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा १६ जनाले बिल्डिङ्ग इलेक्ट्रिसियन तालिम लिएकोमा ८ जना उत्तीर्ण भएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १९ जनाले कुक तालिम लिएकोमा पाँच जना उत्तीर्ण भएका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा वृत्ति मार्गनिर्देशन कार्यक्रममा सातवटा विद्यालयमा कार्यक्रम लागु भएकोमा ४ सय २२ जना विद्यार्थी सहभागी भएका थिए । आर्थिक वर्ष २०८०÷८१ मा १८ विद्यालयमा कार्यक्रम भएकोमा १ हजार ६६ विद्यार्थी सहभागी भएका थिए । आर्थिक वर्ष २०८१÷८२ मा १८ वटा विद्यालयमा कार्यक्रम संचालन भएकोमा १ हजार ९७ विद्यार्थी सहभागी भएका थिए ।
हलुका सवारी मर्मत, विद्युत जडान तथा मर्मत, प्लम्बिङ, कुक र कम्प्युटर हार्डवेयर तथा नेटवर्क सम्बन्धी जनशक्ति आवश्यक परेमा तालिम प्राप्त जनशक्ति तयार गरिएको न्यौपानेले बताए । तालिम पूरा गरी सीप परीक्षणमा समेत उत्तीर्ण भएका युवाहरुलाई दक्ष जनशक्तिको रुपमा रोजगारीमा लगाउने उनले बताए ।
तालिम पूरा गरी सीप परीक्षणमा उत्तीर्ण नभएका युवाहरुलाई दक्ष तथा अनुभवी जनशक्तिको निगरानीमा रहने ग्री सहायक जनशक्तिको रुपमा रोजगारीमा लगाउने गरिएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए । उनले भने, “तालिम लिइरहेका युवाहरुलाई ७ महिनाको तालिम पश्चात उद्योगमा दक्ष इन कम्पनी प्रशिक्षकको निगरानीमा प्रयोगात्मक कार्यको अवसर प्रदान गर्ने गरेका छौ ।” तीन महिनाको प्रयोगात्मक कार्यको अवधिमा प्रशिक्षार्थीहरुलाई उनीहरुको सीपको स्तरका आधारमा केही रकम निर्वाह भत्ता प्रदान गर्ने गरेको बताए ।
इन्स्योर परियोजना लागु भएका विद्यालयका विद्यार्थीहरुलाई उद्योग व्यवसायको अवलोकन भ्रमणमा सहयोग पु¥याउने, सफलताको कथा सुनाउने, उद्यमशीलता परियोजनाको छनौट र कार्यान्वयनमा सहयोग पुर्याउने खालका कार्यक्रम गरिएको प्रमुख चौधरीले बताए ।