Butwal Today

महेशपुर–परासी–सुनवल सडक: ३ पटक म्याद थपियो, तर सडक अधुरै

१० श्रावण २०८२, शनिबार
अ+
अ-

नवलपरासी, १० साउन ।

जिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नति गर्ने निर्माण कार्यको दोस्रो पटक म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेको छैन ।

मङ्सिर महिनासम्म म्याद थप गरिएको  भए पनि काममा ढिलाइ भइरहेको हुँदा थपिएको म्याद भित्रमा पनि काम सम्पन्न हुनेमा स्थानीयले आशङ्का गर्न थालेका हुन् ।

सम्झौतामा निर्माण कम्पनीले म्याद सकिँदासम्म २० प्रतिशत प्रगति भएको थियो । पछि दोस्रो पटक म्याद थप भयो, स्थानीय जितेन्द्र गुप्ताले भने, तर दोस्रो पटक म्याद थप्दा पनि ५० प्रतिशत पनि काम हुन सकेको छैन ।

अहिले तेस्रो पटक म्याद थप भएको छ । म्याद थपाउँदै काम लम्बाउँदै जाँदा स्थानीय धुलो हिलोमा हिँड्न बाध्य भएका छन् । सरकारी बेवास्ता र ठेकेदारको लापरबाहीले उक्त सडक निर्माणले गति नलिँदा सडक वरिपरिका बजार व्यवसायलाई समेत असर पार्दा स्थानीय मर्कामा पर्ने गरेको गुनासो स्थानीयवासीले गरेका छन् ।

म्याद थपाउँदा मूल्यवृद्धि दाबी गर्न पाइँदो रहेछ, उनले भने, त्यसै लोभले पनि ठेकेदार र सरकारी इन्जिनियरहरूको म्याद थपाउने लाभांश बाँड्ने खेल हुने गरेको छ । तर सरकारी कर्मचारी र ठेकेदारलाई मालामाल जनतालाई हैरानी बेहोर्न परेको उनको भनाई थियो ।

महेशपुर मूल भन्सार नाकालाई सदरमुकाम परासी हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने उक्त सडकको पहिलो खण्ड निर्माणमा ढिलाइ भइरहँदा पुरै सडक बन्न दशक लाग्ने आङ्कलन स्थानीयको थियो ।

सरकारले ठेक्का लगाउने तर बजेट विनियोजन नगरिदिने गरेको जनाउँदै ठेकेदारले काममा ढिलाइ गर्ने गरेका छन् ।
सरकारले वास्तविकता के हो ? त्यसको उत्तर दिन सकिरहेको छैन ।

सडक स्तरोन्नतिको सपना देखाउने तर काम गर्न नसक्ने सरकारी क्षमता माथि नै अब प्रश्न उठ्न थालेको गुप्ताले भने, जति सकिन्छ त्यति मात्र ठेक्का गर्नु पर्थ्यो, जुन बेलामै काम ठेकेदारले गर्न सक्थ्यो, जसले गर्दा स्थानीय बासीलाई धुलोमा आउजाउ गर्ने समस्या त कम हुन्थ्यो ।

महेशपुर भन्सारलाई मूल भन्सार बनाउने र सोही अनुसारको सडकको स्तरोन्नति गर्ने लक्ष्य अनुसार योजना सरकारले लिएको थियो ।

बजेट अभाव र ठेकेदारको बदमासीले अहिले स्थानीय जनतालाई हैरानी र सास्ती बेहोर्न परेको उनको भनाइ थियो ।
सडकको दुवै किनारमा निर्माण कम्पनीले नाला मात्र निर्माण गर्न सकेको छ ।

सडकमा ग्राभेल (सबबेस) हाले पनि वरिपरि खाल्टा खुल्टी परेका छन् । वरिपरिका घर र ब्यपार व्यवसायलाई प्रभावित बनाइरहेको छ ।

व्यापार त पुरै चौपट भएको बताउँदै गुप्ताले भने, निर्माण कार्य गर्ने निर्माण व्यवसायी सम्पर्कमा हुँदैनन्, जनताले कसलाई गुनासो गर्ने ? सरकारी प्राविधिकको त नाक मुख हेर्न पाइँदैन ।

सडकको अवस्था विगत भन्दा दयनीय बन्दै गएको छ । बरु सडक स्तरोन्नतिको ठेक्का नहुँदा बर्सेनि सडक मर्मत हुँदै आएको थियो, त्यसले गर्दा खाल्टा खुल्टी पुरिँदै जान्थ्यो ।

तर अहिले ठेक्कामा परेको हुँदा त्यो सडकको मर्मत समेत रोकिएको छ । निर्माण ढिलाइ भई रहेको छ । भन्सार राजस्वमा सडक पनि एउटा कारक बनेको दाबी उनको थियो ।

कलभर्टहरू बन्दा पानी जम्ने र डुबान जस्ता पनि समस्या यथावत छन् । सडकको किनारमा अहिले जहाँ त्यही ढुगाँ, गिट्टी,बालुवा, माटोहरू थुपारिएका छन् ।

विगतमा चुनावी एजेण्डा बनेको सोही सडकको भक्सिपुर पुल पनि होचो अवस्थामै रहेको छ । सडकसँगै पुलको पनि काम गर्नुपर्ने हो, तर पुलको अवस्थाबारे कुनै जानकारी नै नभएको उनले सुनाए ।

सांसद फेरिए तर पुल जस्ताको तस्तै छ, उनले भने, जनताले पुलको अवस्था फेरिन्छ, भनेर सो क्षेत्रका सांसद पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कँडेललाई हराउँदै पूर्व आइजिपी तथा राप्रपाका नेता ध्रुव बहादुर प्रधानलाई जिताउँदै नेता फेर, तर सडक र पुल फेरिएन, यसले जनतामा निराशा छाएको छ ।

ठेकेदारको लापरबाही हो भन्ने ठेकेदारलाई काम गर्न लगाउनु पर्छ, बजेट नछुट्ट्याइएको हो भने बजेट छुट्टाउनु पर्छ । अहिलेको सांसद प्रधानको पनि जिम्मेवारी भएको स्थानीय लक्ष्मी हरिजनले बताए ।

सडक पुल एजेन्डा बनाई मत माग्ने नेता मत प्राप्ति पछि नियमित सो एजेन्डालाई फलो गर्नुपर्ने उनको भनाई थियो । नेताहरूमा ‘अपना काम बन्ता, भाडमा जाए जनता’ जस्तै चरित्र देखिन थालेको आरोप उनको थियो ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभाग को सडक डिभिजन कार्यालय बुटवलले सो सडकको महेशपुर बजार देखी हरपुर बजारसम्मको खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ भ्याट सहितको रकममा ठेक्का लगाएको थियो ।

उक्त ठेक्काको काम गौरीशङ्कर हिमालयन निर्माण प्रालिले २०८० साल वैशाख २६ गते सम्झौता गरी २०८१ असोज २६ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

त्यस पछि २०८२ असार मसान्तसम्मको दोस्रो म्याद थप्यो । अहिले २०८२ मंसिरसम्मको म्याद थपेको छ । तर अहिले सडकका थुप्रै काम पनि पूर्ण भएका छैनन् ।

सडक निर्माण ढिलाइले दर्जनौँ पसल विस्थापित समेत बनेका छन् । दर्जन घरहरू सडक फराकिलो हुन्छ, भनेर घर भत्काएका छन् । तर सडक नबन्दा घर त भत्कियो, भत्कियो, बचेका घरमा पस्नका लागि बाटो समेत अवरुद्ध भएका छन् ।

भविष्यको सपना हेरेर कतिसम्म बस्ने र कुर्ने, वर्तमानको दुःख कतिसम्म लम्बाउने ? उनको भनाई थियो । सडक निर्माणको तीव्रताका लागि सरोकारवालाले पहल गर्न समेत आग्रह उनले गरेका थिए ।

चार अर्ब बढी लागतको डिपिआर भएको उक्त सडक पहिलै खण्डमा अड्किएको छ ।