© २०२३
बुटवल, १० साउन ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकास र सामाजिक कार्यक्रमहरू दलिय राजनीतिभन्दा माथि उठेर गर्नुपर्ने बताएका छन् ।
शनिबार बुटवल–१२ तामनगरमा करिब ५ करोड रुपैयाँ लागतमा बनेको राजपुर खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै उनले गफ गरेर विकास नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । “सबै मिलेर काम गर्ने हो भने देश बन्छ, गफ गरेर मात्र बन्दैन ।” पौडेलले भने ।
फोस्रा गफले विकास नहुने भन्दै उनले जनताका अपार अपेक्षा पूरा गर्न सरकार भरमग्दुर प्रयासरत रहेको दाबी गरे । उनले भौतिक पूर्वाधार र सामाजिक विकासलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिँदै भौतिक पूर्वाधार विकास र सामाजिक विकाससँगै अघि बढे मात्रै समृद्धिको यात्रा तय हुने बताए । सरकार ढल्ने हल्लाबारे टिप्पणी गर्दै उनले भने, “सरकार ढल्ने कुरा निराधार हो । झिंगाको श्रापले डिंगा मर्दैन ।”
सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे लगायतले पनि खानेपानी योजनाको दिगोपनामा स्थानीयको भूमिकालाई महत्वपूर्ण बताए ।
राजपुर खानेपानी आयोजना नेपाल सरकारको सशर्त अनुदानमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो । २०७३÷०७४ आर्थिक वर्षमा सुरु भएको आयोजनामा १ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिएकाले करिब ६ सय घरधुरी लाभान्वित भएका छन् ।