© २०२३
बुटवल, १० साउन ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघले जितेको छ । आपसी सम्बन्ध विस्तार तथा भातृत्व विकासका लागि आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजक सीएनआईवाईएफलाई पराजित गरेको हो ।
प्रतियोगितामा पत्रकार महासंघको समूहले परिसंघ युवा उद्यमी मञ्चको समूहलाई १०–६ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । खेलमा पत्रकार कृष्ण भण्डारी सर्वाधिक गोलकर्ता घोषित भए भने पत्रकार स्वस्तिक श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
कार्यक्रमको अवसरमा परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजु, कार्यक्रम संयोजक सिद्धार्थ गोयल, उद्योग अध्ययन अवलोकन भ्रमण संयोजक सुरज उप्रती, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल र अस्मिना पाण्डेय लगायतले फुटसलजस्तो खेलमार्फत आपसी सद्भाव र सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनीहरूले खेललाई जीत–हारको प्रतिस्पर्धा नभई मित्रता र सहकार्यको अवसरको रुपमा लिएको बताए । यस्ता कार्यक्रमले पेशागत संस्था तथा उद्योगीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।