© २०२३
बुटवल, ९ साउन ।
स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा अभिभावक लक्षित विशेष कार्यक्रम सम्पन्न भएको छ । ‘सकारात्मक अभिभावकत्व र समुन्नत शिक्षा’ शीर्षकमा केन्द्रित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले वर्तमान शिक्षा प्रणालीमा अभिभावकहरूको भूमिका झनै महत्वपूर्ण बन्दै गएको भन्दै विद्यालय र परिवारबीचको सहकार्य बालबालिकाको समग्र विकासका लागि अपरिहार्य रहेको बताए ।
कार्यक्रममा प्रमुख वक्ता लाईभ एजुकेसनका प्रशिक्षक दिनेश खड्काले ‘आर्ट अफ प्यारेन्टिङ’ विषयमा प्रभावशाली प्रस्तुति दिएका थिए । सकारात्मक सोच, संयम र संवादमार्फत अभिभावकले बालबालिकाको व्यवहारिक तथा भावनात्मक विकासमा सघाउन सकिने विषयमा व्याख्या गरे ।
कार्यक्रममा बिट्रिस काउन्सिलकी लुम्बिनी प्रदेश प्रमुख पुष्पान्जलि बरालले बालमैत्री शिक्षा प्रणाली र शिक्षण विधिका नवप्रवर्तनहरूबारे अभिभावकलाई जानकारी दिइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्याल, सहायक प्राचार्य टिकाराम गौतम र प्रशासन प्रमुख लोकप्रसाद भण्डारी (राजु)ले पनि अभिभावक समक्ष विद्यालयको नीति, कार्यशैली र आगामी योजना प्रस्तुत गरे ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले वार्षिक कार्ययोजना अनुसार अभिभावक लक्षित विशेष कार्यक्रम गर्दै आएको बताए ।
एम्स क्लब अफ म्यानेजमेन्टका प्रमुख दीपक ढकाललगायत अन्य वक्ताहरूले अभिभावक–विद्यालय सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । कार्यक्रममा विद्यार्थीको प्रस्तुति, अन्तरक्रिया र सम्मानको पनि व्यवस्था गरिएको थियो ।