Butwal Today

गुल्मीमा गाईपालकका लागि राहत : दश हजारसम्म अनुदान

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, ०९ साउन । 

गुल्मीको सत्यवती गाउँपालिकामा गाई पालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । पालिकाले गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईको लागि प्रोत्साहन स्वरूप प्रति गाई दश हजार रूपैंया अनुदान उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाई पालन तथा तिनको संरक्षण कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषकहरूलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त योजना ल्याएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए ।

पालिकाले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी आर्थिक वर्ष २०८२/०८३ को पशुपक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त प्रोत्साहन कार्यक्रम अघि सारेको हो ।

कार्यक्रमबाट लाभ लिनको लागि पालिकाले २०८२ साउन १ गतेदेखि ०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा दश हजार रूपैंया अनुदान उपलब्ध गराउने जानकारी गराएको छ ।

उक्त रकम प्राप्त गर्नका लागि कृषकहरूले आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनु पर्ने बताइएको छ ।

अनुदान प्राप्त गर्नका लागि त्यसका कृषकले पालिकामा निवेदन सहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको ब्यहोरा उल्लेख गरिएको कम्तीमा तीन जना छिमेकीहरूको हस्ताक्षर सहितको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिएका छन् ।

त्यसका अतिरिक्त निवेदकको बैङ्क खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताए ।

गाउँपालिका उपाध्यक्ष निर माया तरामुका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभई अनिवार्य रूपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने बताइएको छ ।

पछिल्लो समयमा गाउँघरमा गाई पालन गर्ने परम्परा बिस्तारै लोप हुँदै जान थालेको अवस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्नका लागि उक्त अभियान सञ्चालन गर्न लागेको हो ।