© २०२३
परिचय
प्रत्येक शैक्षिक कार्यक्रमको सफलता निर्धारणमा शिक्षक तथा प्राध्यापकहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उनीहरू सम्पूर्ण शैक्षिक गतिविधिको गतिशीलताको जिम्मेवार हुन्छन । उनीहरूले आफूलाई अद्यावधिक र सक्षम राख्नु आवश्यक छ, जुन उनीहरूको पेसागत विकासमार्फत् मात्र सम्भव छ ।
पेसागत विकास पेसागत सिकाइ पनि हो, जसमा विगतको पेसागत अभ्यास, कक्षा शिक्षणका अनुभव तथा शिक्षकका स्वः प्रत्यावर्तनसमेतलाई आधार बनाइएको हुन्छ । गुणस्तरीय शिक्षाको प्रमुख आधार शिक्षक तथा प्राध्यापक भएकाले पेसागतरूपमा दक्ष र उच्च उत्प्रेरणा भएका प्राध्यापकहरूबाट मात्र उपलब्धिमूलक, जीवन्त तथा प्रभावकारी शिक्षण हुन सक्छ । यिनीहरू शिक्षाको नवीन ज्ञान प्रदान गर्ने, शिक्षाको गुणस्तर कायम गर्ने तथा शिक्षाका नीति, योजना र शिक्षासँग सम्बन्धित सम्पूर्ण पक्षको कार्यान्वयन गर्ने व्यक्ति हुन ।
उनीहरूले विश्व परिवेशमा भएका नवीन ज्ञान, विषय तथा आविष्कारहरूमा विद्यार्थीहरूलाई अद्यावधिक गराई नयाँ नयाँ ज्ञान प्रदान गर्ने कार्य गरिरहेका हुन्छन । शैक्षिक क्षेत्रको समसामयिक सुधार र आमूल परिवर्तन गर्नका लागि उनीहरू पनि समयानुकूल परिवर्तन हुनु आवश्यक छ ।
शिक्षक तथा प्राध्यापकहरूमा यस्तो परिवर्तन पेसागत विकासका विविध कार्यमा भएको सहभागिताका आधारमा निर्धारण हुने गर्दछ । पेशागत विकास एउटा ज्ञानको क्षेत्र हो, जसले शिक्षकहरूलाई व्यक्तिगत, व्यावसायिक र सामाजिक वृद्धिका साथ बढाउने लक्ष्य राख्छ ।
व्यापक अर्थमा पेसागत विकासले एक व्यक्तिको उसको व्यावसायिक भूमिकामा विकासलाई जनाउँछ । यो उत्कृष्ट प्रकारको शिक्षक बन्ने प्रक्रिया हो । यो शिक्षण पेशाको सुरुको दिनदेखि पेसागतरूपमा अवकाश र व्यक्तिगत रूपमा मृत्यु शय्यामा नपुगुन्जेलसम्म जारी रहन्छ । यसले शिक्षक तथा प्राध्यापकहरूको व्यावसायिकता बढाउन मद्दत गर्दछ । यो शिक्षण सिकाइ प्रक्रिया व्यवस्थित रूपमा स्तरोन्नति गर्ने पेसागत वृद्धि हो ।
पेसागत विकासले शिक्षक तथा प्राध्यापकहरूको सीप, ज्ञान वा बुझाइ र शैक्षिक संस्थामा उनीहरूको प्रभावकारिता बढाउने कार्य गर्दछ । यसले शिक्षकमा एक किसिमको व्यावसायिकता कायम राख्छ र उनीहरूको विश्वास र व्यवहारमा सकारात्मक प्रभाव पार्दछ ।
शिक्षकको पेसागत विकासको मूल उद्देश्य विद्यार्थीको सिकाइ व्यवहारमा परिवर्तन ल्याउनु हो । सफल पेसागत विकास कार्यक्रमले विद्यार्थीको आवश्यकता अनुसारको सिकाइ क्रियायाकलाप, प्राध्यापकलाई सिकाइका लागि उत्प्रेरणा एवम् सिकाइ समूहको विकासजस्ता पक्षहरूमा जोड दिएको हुन्छ ।
यसका लागि पेसागत विकासका कार्यमा अनुसन्धान, सहकार्य, प्रतिविम्बात्मक चिन्तन आदि गतिविधिहरू सञ्चालन गरिनु आवश्यक हुन्छ। साथै तालिम, अभ्यास, पृष्ठपोषण, प्रशस्त समय र पृष्ठपोषण सहयोगको व्यवस्था पनि गरिएको हुन्छ । पेसागत विकास राम्रो तथा अब्बल शिक्षक बन्ने प्रक्रिया हो, जसमा पाठ्यक्रम निर्माण, सामग्री चयन, शिक्षण विधि, मूल्यांकन र परीक्षणजस्ता विषयहरू पर्दछन । जो सन्दर्भ अनुसार परिवर्तन भइरहन्छन ।
रिचड्र्स र फारेलले शिक्षक तथा प्राध्यापकहरूलाई नयाँ ज्ञान, प्रविधि र सीपसँग परिचित गराउन, पाठ्यक्रम तथा पाठ्य पुस्तकहरूमा गरिएका संशोधन र परिवर्तन अनुकूल बनाउन, पेसागत कौशल र दृष्टिकोण विकसित गर्न, शिक्षण कार्यप्रति अभिप्रेरणा जगाउन र पेसाप्रति अझ समर्पित गराउन थप ऊर्जा दिने कार्यमा पेसागत विकास कार्यक्रमको ठूलो भूमिका हुन्छ भनेका छन ।
नेपालका विभिन्न विश्वविद्यालय अन्तर्गत आंगिक, सामुदायिक र निजी क्याम्पस गरी तीन प्रकारका क्याम्पसहरू छन । समुदायबाट समुदायको हितका लागि नाफारहित ढङ्गले संचालित क्याम्पस नै सामुदायिक क्याम्पस हुन । यस्ता क्याम्पसहरू खासगरी स्थानीय स्तरबाट उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले समाजसेवी, बुद्धिजीवी ,शिक्षाप्रेमी, आदिले स्थापना गरेको पाइन्छ । यी क्याम्पसको स्थापनासंगै स्थानीय दानवीरदाताहरूले आफ्नो क्षमता अनुसार नगद, श्रम, जग्गा दान दिएर वा चन्दा उठाएर भौतिक पूर्वाधार निर्माण गरेका छन ।
विश्वविद्यालय अनुदान आयोगको अभिलेख अनुसार नेपालमा जम्मा ५४५ वटा सामुदायिक क्याम्पसहरू रहेका छन । यस्ता सामुदायिक क्याम्पसहरूले नेपालको उच्च शिक्षाको ३२ प्रतिशत अंश ओगटेको छ । सामुदायिक क्याम्पसहरूले देशको दूरदराजसम्म शिक्षाको ज्योति फैलाउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ ।
सामुदायिक क्याम्पसहरूले आर्थिक, सामाजिक आदि कारणबाट शहरमा पुगी उच्चशिक्षा हासिल गर्न कठिन भएका परिवार र समुदायमा रहेका उच्च शिक्षा आर्जन गर्ने चाहना बोकेका विद्यार्थीहरूलाई उच्चशिक्षाको बाटो खोलेका छन । लैङ्गिक दृष्टिले हेर्ने हो भने सामुदायिक क्याम्पसले महिलाहरूको उच्चशिक्षाको पहँुचलाई बढाएको छ र यस्ता क्याम्पस छोरी–बुहारीका क्याम्पसका रूपमा परिणत हुदै गएको पाइन्छ।
सामुदायिक क्याम्पस देशका ग्रामीण क्षेत्रमा स्थापना हुनेक्रम बढेपछि उच्च शिक्षामा निम्न वर्गीय महिलाहरूको पहुँच दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसहरू र यसमा प्राध्यापनरत प्राध्यापकहरूको उच्च योगदान रहेको छ । देशको दुर्गम स्थानहरूको कुनाकुनामा रहेका यस्ता क्याम्पसहरूले गरिब, सिमान्तकृत, आदिवासी, जनजाति, दलित लगायतका समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुच पुराएका छन ।
यस्ता सामुदायिक क्याम्पसका प्राध्यापकहरू आङ्गिक क्याम्पसको स्थायी प्राध्यापक भएर सामुदायिक क्याम्पसमा पढाउने प्राध्यापकहरू, सरकारी विद्यालयका स्थायी शिक्षक वा स्थायी सरकारी कर्मचारी भएर सामुदायिक क्याम्पसमा पढाउने प्राध्यापकहरू र सामुदायिक क्याम्पसमा मात्र निर्भर रहने प्राध्यापकहरू गरी तीन प्रकारका रहेका छन ।
सामुदायिक क्याम्पसमा मात्र निर्भर रहने प्राध्यापकहरू अहिले नेपालमा करिब १२ हजार रहेको पाइन्छ। यस्ता प्राध्यापकहरूको कुनै सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । आफ्नो उर्जामय जीवन सामुदायिक क्याम्पसमा खर्च गरेका प्राध्यापकहरू भविष्यको सुनिस्चितता हुन सकेको छैन । उनीहरूको पेसागत विकासका विभिन्न क्रियाकलापमा सहभागी हुने अवसर छैन । यो आलेखमा सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूको पेसागत विकासको अवसर र चुनौती बारेमा चर्चा गरिएको छ ।
पेसागत विकासको अवस्थाः
पेसागत विकास ज्ञान, सीप र आचारसंहिताको संस्थागत रूपान्तरणको प्रक्रिया हो । यो एउटा यस्तो विचारधारा हो जसले कुनै पेशाबाट प्राप्त हुने भौतिक लाभभन्दा बढी ज्ञान, सीप, र नैतिकतालाई जोड दिन्छ । नेपालका शैक्षिक संस्थाहरूमा शिक्षक प्राध्यापकहरूको पेसागत विकास एक प्रमुख चासोको विषय बनेको छ ।
पेसागत विकास नियमित चलिरहने प्रक्रिया हो । नेपालमा उच्चशिक्षाको सुरुवातदेखि नै प्राध्यापक कर्मचारीको पेसागत विकाससम्बन्धी कार्यहरू भएको पाइन्छ । आजभोलि पेसागत विकासका गतिविधिहरू नेपालका शैक्षिक विकास कार्यक्रमहरूको एक महत्वपूर्ण एजेन्डा बनेको छ ।
सामुदायिक क्याम्पसहरूमा शिक्षक पेसागत विकासका लागि विभिन्न सुविधा सम्बन्धी प्रबन्ध गरिएको छ तर कार्यान्वयनमा विभिन्न कठिनाइ र चुनौतीहरूको सामना गरिरहेका छन । सामुदायिक क्याम्पसमा विभिन्न तालिम, स्वाध्ययन, सहकार्य, उपचारात्मक सुपरिवेक्षण, परामर्श, पेसागत बैठक, अध्ययन तथा अवलोकन भ्रमण, कार्यशाला, गोष्ठी तथा सेमिनारमा निरन्तर सक्रिय सहभागिता, अवलोकन भ्रमण आदि कार्यकलापमा सहभागिता, शिक्षण सिकाइका विविध पक्षहरूमा अध्ययन अनुसन्धान, अनुभव आदान–प्रदान जस्ता क्रियाकलापको ब्यबस्था गरिएको पाइन्छ ।
सामुदायिक क्याम्पसहरूले पेसागत विकासका लागि गरेका व्यवस्था प्रशंसनीय र प्रभावशाली देखिएतापनि केही अवस्थामा ती व्यवस्थाको कार्यान्वयनमा व्यावहारिक रूपमा असंगति देखिएको पाइन्छ । तरपनि हालका दिनमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक क्याम्पसहरूले कार्यशाला र तालिम, शैक्षिक सम्मेलन र सेमिनार, पेसागत बैठक, अनुसन्धानमूलक लेख रचना प्रकाशन, प्राध्यापक आदानप्रदान कार्यक्रम संचालन गरिरहेका छन। कुनै कुनै क्याम्पसहरूले प्राध्यापकहरूको पदोन्नति, विश्वविद्यालयहरूको अवलोकन भ्रमण, सेवाकालीन प्रशिक्षण गतिविधिहरू र अवसरहरू, अध्ययन बिदा, निरन्तर मूल्याङ्कन र पुरस्कारको व्यवस्था, बीमा आदि जस्ता पेसागत विकासका कार्यक्रम संचालन गरेको पाइन्छ ।
यस्ता कार्यक्रममा एकरूपता पाईदैन र निष्पक्षता पनि नभएको पाइन्छ । सामुदायिक क्याम्पसमा अध्यापनगर्ने धेरै कम प्राध्यापकहरूले पेसागत विकासका गतिविधिहरूको लागि अवसर पाएका छन् । उनीहरूको पेसागत विकासप्रति अधिकांस सरोकारवालाहरू सकारात्मक रहेको पाइदैन । यद्यपि क्याम्पसको बिधान, ऐन, नियमावलीमा पेसागत विकास गतिविधिका लागि केही प्रावधानहरू छन्, तर तिनको कार्यान्वयनमा कठिनाइ छ ।
यस्ता प्रावधानहरू परिवर्तनशील प्रकृतिको शिक्षण सिकाई प्रक्रिया लागि अपर्याप्त छ । शिक्षामा भएको रूपान्तरण, प्रविधि युक्त डिजिटल सिकाइलाई तथा विश्वव्यापीकरणलाई अंगाल्दै शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नुपर्ने हुन्छ । त्यसकालागि उनीहरू आफैं प्रेरित, अद्यावधिक र गतिशील हुनुपर्ने हो तर त्यो पाईदैन ।
पेसागत विकासका अवसरहरूः
सामुदायिक क्याम्पसहरूले आफ्ना प्राध्यापकहरूको पेसागत विकासमार्फत् सिकाइमा सुधार गर्न विविध कार्यहरू सम्पादन गर्ने प्रयास गरेको पाइन्छ । यसका लागि कक्षाकोठाको विविधता व्यवस्थापन गर्न, खोज, अन्वेषण तथा कार्यमूलक अनुसन्धानमा सक्रिय हुन, शिक्षण सहजीकरणमा सूचना प्रविधिको प्रयोग गर्न, सुपरीवेक्षणीय सहयोग लिन, दोहोरो सञ्चार प्रणालीको विकास गर्न, प्राध्यापकहरूलाई सम्बन्धित सञ्जालमा जोडिन, विभिन्न तालिम, गोष्ठी, सेमिनार, राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनमा सहभागी हुन, आन्तरिक तथा बाह्य अवलोकन भ्रमण जस्ता क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गरेको पाइन्छ ।
तर सामुदायिक क्याम्पसका लागि सङ्घीय सरकार अन्तर्गत विश्वविद्यालयबाट प्राप्त हुने न्यून मात्राको नियमित अनुदान र विद्यार्थीबाट उठाइने शुल्क बाहेक अरू आम्दानी स्रोत नभएकाले यी कार्यक्रम लागू गर्न नसकिरहेको अवस्था छ । उच्च शिक्षाको महत्वपूर्ण पाटो भनेको अनुसन्धानमूलक शिक्षण सिकाई कृयाकलापहरू हुन् ।
यसका लागि सामुदायिक क्याम्पसहरूले कार्यमूलक अनुसन्धान, लघु अनुसन्धान, जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशनका लागि प्रोत्साहन गरेको पाइन्छ । हालका दिनमा विश्वविद्यालय अनुदान आयोग नेपालले लघु अनुसन्धान, फ्याकल्टी अनुसन्धान, विद्यावारिधि वृत्ति तथा शोध सहयोग, दर्शनाचार्य वृत्ति, विद्वतवृत्ति, पोस्टडक्टरल वृत्ति, शोध प्रबन्ध अनुसन्धान, विद्यावारिधिका लागि आंशिक सहयोग, समकक्षी, मूल्याङ्कन जर्नल प्रकाशनार्थ इन्डेक्सिङ गर्न सहयोग, सहकार्यात्मक अनुसन्धान अनुदान, अनुसन्धान विकास र नवप्रवर्तनको लागि म्याचिङ अनुदान, विशेष अनुसन्धान, अनुसन्धान सहकार्य, जर्नलमा शोध लेख प्रकाशन सहयोग लगायतका बिभिन्न अनुसन्धानात्मक कार्यमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई पनि अनुदान सहयोग गर्दै आएको छ ।
उक्त आयोगले क्षमता अभिवृद्धि, भ्रमण तथा अन्यविशेष कार्यक्रमहरू शीर्षकमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई लक्षित गरी क्षमता विकास कार्यक्रम, पुनर्ताजगी तालिम, क्षमता विकास तालिमहरू, अनुसन्धान तालिम, गोष्ठी, कार्यशाला, सम्मेलन, शैक्षिक संस्था उद्योगी व्यवसायी संवाद कार्यक्रम संचालनका लागि सामुदायिक क्याम्पसलाई अनुदान दिने गरेको छ ।
यस्ता कार्यक्रमबाट सामुदायिक क्याम्पसका प्राध्यापक कर्मचारी प्रत्यक्षरूपमा लाभान्वित हुने गरेका छन । यस्तै अनुदान आयोगबाट आयोजना हुने क्याम्पस प्रमुखका लागि शैक्षिक योजना तथा प्रशासन सम्बन्धी तालिम, विश्वविद्यालय समुदाय सम्पर्क कार्यक्रम, उच्चशिक्षा सम्बन्धी नीति संवाद, उच्चशिक्षामा नवप्रवर्तन तथा असल अभ्यास गर्ने नेतृत्वकर्ता पहिचान अध्ययन अध्यापन भ्रमण, उच्च शैक्षिक संस्थामा प्राध्यापकको भ्रमण र रास्ट्रिय तथा अन्तरास्ट्रिय, सभा सम्मेलन गोष्ठीमा सहभागिताका लागि भ्रमण अनुदान कार्यक्रमबाट पनि सामुदायिक क्याम्पसका प्राध्यापक कर्मचारीहरूले लाभ लिईरहेको पाइन्छ ।
विश्वका अन्य राष्ट्र जस्तै नेपालमा पनि विश्वविद्यालय अनुदान आयोग नेपालले नेपालका उच्च शैक्षिक संस्थाहरूको गुणस्तर मापन गरी गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (त्तब्ब्) उपाधि दिने गरेको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांक अनुसार हालसम्म नेपालका ११६ वटा उच्च शैक्षिक संस्थाले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको उपाधि प्राप्त गरेका छन । यस्ता ९त्तब्ब्० उपाधि प्राप्त गर्ने अधिकांश अर्थात् ६८ वटा क्याम्पस सामुदायिक छन ।
उच्च शिक्षाको यो अवस्था नियाल्दा नेपालका सामुदायिक क्याम्पसको गुणस्तरीय उच्च शिक्षामा महत्वपूर्ण योगदान रहेको पाईन्छ । यो वातावरण बनाउनुमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूको समर्पण महत्वूुर्ण छ । विश्वविद्यालय अनुदान आयोग नेपालले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (त्तब्ब्) को प्राप्तिका लागि तयार पारेको बिभिन्न सूचकहरूमध्ये मानव संसाधन व्यवस्थापनलाई पनि समेटेको छ । जसमा अनुसन्धानात्मक कार्य, पेसागत विकास, उच्च शिक्षा अध्ययन जस्ता कुरालाई समेटिएको छ । यो व्यवस्थाले सामुदायिक क्याम्पसहरूलाई प्राध्यापक तथा कर्माचारीको पेसागत विकासमा अनुकुल वाताबरण सिर्जना गर्न बाध्य पारेको छ ।
विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुधार कार्यक्रम अन्तर्गत संस्थागत अनुसन्धान पूर्वाधारको विकास गर्ने, शिक्षक र विद्यार्थीको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने, शिक्षक र विद्यार्थीबाट आयोगमा पेस भएका शोध प्रस्तावलाई शोध अनुदान र स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका विद्यार्थीलाई नियमित रूपमा वृत्ति एवं शोध प्रबन्ध तयारी सहायता प्रदान गर्नेजस्ता कार्य गर्दै आएको छ ।
विश्वविद्यालय अनुदान आयोगले विभिन्न समयमा संचालन गर्ने परियोजनाहरूका कार्यक्रमहरूमा पनि पेसागत विकासका क्रियाकलापहरूलाई अनिवार्य समावेश गरिएको छ । हाल विश्वविद्यालय अनुदान आयोगको उच्चशिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम (२०२१–२०२६) कार्यान्वयनमा आएको छ । विश्वविद्यालय अनुदान आयोग नेपाल २०२४ का अनुसार यस कार्यक्रमको उद्देश्य उच्चशिक्षाको श्रम बजारमा सान्दर्भिकता र गुणस्तरको सवलीकरण सहकार्यमा आधारित अनुसन्धान र नवप्रवर्तनको बढावा तथा अल्पसंख्यक र प्रकोप प्रभावित समूहरूको उच्चशिक्षामा समतामूलक पहुँचको विस्तार गर्ने रहेको छ । यस्ता कार्यक्रमबाट सामुदायिक क्याम्पसका प्राध्यापकहरूको वृत्ति विकासमा सहयोग पुगेको पाइन्छ ।
पेसागत विकासका चुनौतीहरूः
नेपालको उच्च शिक्षाको ३३ प्रतिशत विद्यार्थीको भार सामुदायिक क्याम्पसले ओगटेको छ । देशको दूरदराजका जनताको चाहना र आवश्यकता अनुसार सर्वसुलभ रूपमा उच्च शिक्षा प्रदान गर्न सामुदायिक क्याम्पसहरूले प्रतिकूल अवस्थामा पनि खेलेको भूमिका नेपालको उच्च शिक्षाको विकास र विस्तारमा कोसेढुंगा सावित भएको छ । विपन्न, दलित, पिछडिएका वर्ग, महिला र कमजोर आर्थिक अवस्था भएका परिवारका सन्ततिलाई उच्च शिक्षाको पंहुचमा सुनिस्चितता गर्ने काममा सामुदायिक क्याम्पस अब्बल भएका छन ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (त्तब्ब्)को प्रमाणपत्र प्राप्त गर्ने अधिकांस क्याम्पस सामुदायिक क्याम्पस भएकाले यिनीहरू अध्यापन, अनुसन्धानमा पनि अब्बल ठहरिएका छन। प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति र आम जनसमुदायको सहकार्यमा यी क्याम्पसहरू संचालित छन ।
विश्वविद्यालय अनुदान आयोगको न्यून आर्थिक सहयोग र विद्यार्थीको शुल्कमा भर पर्नु परेकाले हालका दिनमा अधिकांस सामुदायिक क्याम्पसहरू समस्यामा परेका छन । समुदायले आफ्नो गास काटी संचालन गरेका यस्ता क्याम्पस संचालनार्थ निश्चित विधि, नीति आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा यिनीहरू समस्याग्रस्त बनेका हुन ।
खास गरेर यस्ता क्याम्पसहरूमा नीतिगत समस्या, पेसागत समस्या, स्तर निर्धारण, संचालन खर्च व्यवस्थापन आदि जस्ता समस्याहरू रहेकाछन ।यससंगै सामुदायिक क्याम्पसहरूको संचालन व्यवस्थापनमा एकरूपता नदेखिनु, नियमित अनुदान अत्यन्त न्यून हुनु, तिनै तहका सरकारले सामुदायिक क्याम्पसको अपनत्व नलिनु जस्ता समस्या रहेका छन ।
यसका अलावा विद्यार्थी उपलब्धताका पर्याप्त स्रोत र क्याम्पस संचालन गर्नै पर्ने औचित्व पुष्टि नगरी राजनीतिक दबाबका भरमा क्याम्पसहरूले सम्बन्धन लिनु र दिनु, सामुदायिक क्याम्पसहरूमा अनाबश्यक राजनीतिकरण र अप्राज्ञिक गतिविधि हावी हुनु अनि जग्गाको उपभोग सम्बन्धी कारणले सामुदायिक क्याम्पसहरू समस्यामा परिरहेका छन । माथि उल्लेखित विविध कारणले समस्यामा परेका अधिकांस सामुदयिक क्याम्पसका प्राध्यापकहरूको पेसागत विकासका समस्या र चुनौती झन जटिल रहेका छन ।
प्राध्यापक तथा कर्मचारीको नियमित पारिश्रामिक भुक्तानीमा समस्या देखिएको छ । सामुदायिक क्याम्पसमा प्राध्यापकहरूलाई सेवा, शर्त र सुविधाको प्रत्याभूति नभई न्युनतम पारिश्रमिक समेत निर्धारण हुन सकेको छैन । सामुदायिक क्याम्पसहरूमा सेवा प्रवेशका मापदण्डहरूमा एकरूपता छैन ।
आंगिक क्याम्पस वा सरकारी कर्मचारी र विद्यालयका स्थायी शिक्षकहरूको बाहुल्यता रहेका कतिपय क्याम्पसहरूमा क्याम्पसको आफ्नो मौलिक क्यालेन्डर भन्दा पनि उहाँहरूकै अनुकूलतामा क्यालेण्डर बन्ने स्थिति रहेको पाइन्छ । उच्च अध्ययन (एम फिल, पि.एच.डी.) का लागि अधिकांश क्याम्पसहरूबाट तलबी बिदाको सुविधा प्राप्त हुन नसकेको वा एम.फिल, विद्यावारिधि लगायतका विद्वत वृत्तिमा प्रभावकारी रूपमा सहभागी हुन असहज वातावरणको सिर्जना भएको पाइन्छ ।
आङ्गिक क्याम्पसका स्थायी प्राध्यापकहरूले बौद्धिक वृत्ति विकास वा विधावारिधि जस्तो उपधिका निम्ति खाइपाई आएको सेवा सुविधासहित अध्ययन बिदा पाउने व्यवस्था रहेको छ तर अधिकांस सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई अध्ययन अनुसन्धानका निम्ति कुनै पनि सुविधा सम्बन्धित क्याम्पस, त्रिवि वा सरकारले प्रदान गरेको छैन । उल्टै वेतलबी बिदामा बसी ढाड सेक्ने महङ्गो शुल्क तिरेर सामुदायिक क्याम्पसका प्राध्यापकहरू अध्ययन अनुसन्धान गर्न बाध्य छन । सामुदायिक क्याम्पसमा मात्र कार्यरत प्राध्यापकहरूको वास्तविक संख्या निर्धारण हुन सकेको छैन ।
जसले गर्दा सामुदायिक क्याम्पसको आफ्नो जनशक्तिको यकिन हुनसकेको छैन । सामुदायिक क्याम्पसमा मात्र सेवा गर्ने प्राध्यापकहरू नै वास्तविक समस्याग्रस्त प्राध्यापकहरू हुन । यस्ता प्राध्यापकहरूले जीवनको सम्पूर्ण पौरख, ज्ञान, सिप, आफ्नो बौद्धिक क्षमता साथै ऊर्वर जीवन सामुदायिक क्याम्पसमा समर्पित गरेका छन। उनीहरूको औषधिउपचार, उपदान, पेन्सन लगायतका सुविधाहरूको ब्यबस्था नै नभएको पाइन्छ ।
कतिपय प्राध्यापकहरू विद्यावारिधि हासिल गरिसकेका वा एम फिल तह उत्तीर्ण गरी विद्यावारिधि अनुसन्धानमा क्रियाशील उच्च शैक्षिक क्षमता भएर पनि बौद्धिक शोषणमा परेका छन । उनीहरूको तहगत बढुवामा सरोकारवालाको कुनै चासो नै छैन । कतिपय सामुदायिक क्याम्पसहरूले आफ्नो विधानअनुरूप अध्यापकहरूलाई सहप्राध्यापक, प्राध्यापकको व्यवस्था गरेका छन तर त्यस व्यवस्थालाई ब्यबहारमा लागू गरिएको छैन ।
गरिएको भएपनि सम्बन्धित विश्वविद्यालयले मान्यता दिन खोजिरहेको छैन । शिक्षण गर्नुपर्ने विषयका विषयगत तालिमहरू पर्याप्त छैनन । बदलिँदो परिवेशसंगै शिक्षामा रूपान्तरण गर्नका लागि गर्नुपर्ने पेसागत क्रियाकलाप हुन सकेका छैन । धेरैजसो क्याम्पसको विधानमा पेसागत आधार स्पष्ट छैन भएपनि, व्यवहारमा लागू हुनु सकेको छैन ।
तालिम, गोष्ठी, सेमिनार, अनुसन्धान, वृत्तिविकास जस्ता विषयमा पर्याप्त अवसर दिने गरिएको छैन। सेवा, शर्त र सुविधाको केही ग्यारेन्टी छैन । कुनै मर्यादाक्रम छैन । दसकौं सम्म काम गरेर अन्त्यमा रित्तो हात बिदा हुनुपर्ने अवस्था छ। सामुदायिक क्याम्पसका प्राध्यापकहरूले भोग्नुपरेका दैनिकका समस्या र पीडालाई सम्बोधन गर्न सरोकारवाला आनाकानी गरिरहेको पाइन्छ।
सेवासुविधा, स्थायित्व, पदोन्नति,अनुसन्धान, वृत्तिविकास, स्तर निर्धारण आदि हरेक क्षेत्रमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई विभेदपूर्ण व्यवहार गरिएको छ । सामुदायिक क्यामपसको मर्मअनुरूप यसको स्वामित्व निश्चित व्यक्तिहरूमा सीमित नरही समुदायका विभिन्न वर्गमा रहनु पर्ने हो सो हुन सकिरहेको छैन। न्युन बेतनसंगै अध्यापनरत शिक्षकलाई व्यवस्थापन पक्षले जानकारीबिनै सेवाबाट हटाउने, विद्यार्थीमा भएको अनुशासनहिनता, विद्यार्थी संगठनको नाममा प्राध्यापकप्रति गर्ने व्यवहार पनि त्यति शोभनीय छैन ।
चुनौति निराकरणका उपायहरू
पब्लिक क्याम्पसका प्राध्यापकका पेसागत विकासको लागि जति समस्या देखिएका छन । ती सबै आर्थिक अभाव, प्रवृति र उच्च शिक्षाको मर्म नबुझिएको कारणले देखिएको पाइन्छ । यसको निवारणका लागि सामुदायिक क्याम्पससंग सम्बन्धित नीति निर्माणमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने हुन्छ ।
सामुदायिक क्याम्पसमा मात्र कार्यरत पूर्णकालीन प्राध्यापकहरूको वास्तविक तथ्यांक लिनुका साथै न्युनतम स्तरका सेवा सुविधामा एकरूपता कायम गर्नुपर्दछ । क्याम्पसको विधानमा पेसागत विकासका आधार स्पष्ट पार्नु पर्दछ र अभ्यास अनि व्यवहारमा लागू गर्नुपर्दछ । तालिम, गोष्ठी, सेमिनार, अनुसन्धान, वृत्तिविकास जस्ता विषयमा पर्याप्त अवसर दिनुपर्दछ । सेवा, शर्त र सुविधाको ग्यारेन्टी गर्नुपर्दछ ।
विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुधार कार्यक्रम अन्तर्गत प्राध्यापकहरूको क्षमता अभिवृद्धिका कार्यक्रममा सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई प्राथमिकतामा राख्नुपर्दछ । विश्वविद्यालय अनुदान आयोग नेपालले प्रदान गर्ने अनुसन्धान, विद्यावारिधि वृत्ति तथा शोध सहयोग, दर्शनाचार्य वृत्ति, विद्वतवृत्ति, पोस्टडक्टरल वृत्ति, जर्नल प्रकाशनार्थ इन्डेक्सिङ गर्न सहयोग, नवप्रवर्तनको लागि म्याचिङ अनुदान, जर्नलमा शोधलेख प्रकाशन सहयोग लगायतका बिभिन्न अनुसन्धानात्मक कार्यमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई विशेष प्राथमिकतामा पार्नुपर्दछ ।
विश्वविद्यालयहरूमा गरिने अनुसन्धानात्मक कार्यमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूको समेत सहभगिता बढाउनुपर्दछ । साथै प्रदेश तथा स्थानीय सरकारका अनुसन्धानात्मक कामहरूमा समेत स्थानीय सामुदायिक क्याम्पसका प्राध्यापकहरूको सहभागिता बढाउनुपर्ने हुन्छ ।
बजारको माग, देशमा उपलब्ध साधन स्रोतको पहिचान तथा परिचालन एवं अन्तर्राष्ट्रिय स्तरको प्रतिष्पर्धि क्षमता अनुकुलका कार्यक्रम तथा पाठ्यक्रमहरू तयार गरी प्राध्यापक कर्मचारीहरूलाई पर्याप्त अभिमुखीकरण, तालिम, गोष्ठी संचालन गर्नुपर्दछ । सामुदायिक क्याम्पसका प्राध्यापक, कर्मचारीको तहगत विभाजन, भर्ना, पदोन्नति प्रणालीलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।
उनीहरूलाई कामप्रति अभिप्रेरित, प्रोत्साहित र समर्पित गराउन अवकाश कोष, कल्याण कोष, योग्यता, क्षमता र अनुभव पुगेका प्राध्यापक तथा कर्मचारीलाई पदोन्नति व्यवस्था गर्नुपर्ने हुन्छ । सम्बन्धन दिने विश्वविद्यालयले अनिवार्य रूपमा प्राध्यापक कर्मचारीहरूको स्तर निर्धारण गर्नुपर्ने हुन्छ ।
अन्त्यमा, सामुदायिक क्याम्पसका प्राध्यापकहरूले पनि आफ्नो पेसागत विकासलाई शिक्षण सिकाइ क्रियाकलापको अभिन्न अंगको रूपमा लिनुपर्दछ । आफ्नो उच्च शिक्षा अध्ययन, तालिम, गोष्ठी, सम्मेलनमा सहभागिता जनाउनुपर्ने हुन्छ । विश्वमा भएको तीब्र प्रबिधिको विकाससंगै आएको शैक्षिक परिवर्तन र नवीनतासंग आफुलाई परिचित गराउँदै रूपान्तरण तथा अद्यावधिक गर्नु जरुरी छ ।
विश्व परिवेश संग जुध्न सक्ने मानव संशाधन उत्पादनका लागि अनुसन्धानमूलक शिक्षण सिकाइ क्रियाकलाप संचालनका लागि तयार हुनपनि पेसागत विकासका कार्यक्रममा सक्रियरूपमा सहभागी हुनुपर्दछ । जसका लागि प्राध्यापक स्वं जागरुक र पेसाप्रति समर्पित कर्तब्यनिष्ठ हुनुपर्दछ ।
सहिद नारायण पोखरेल (रामापुर क्याम्पस, सैनामैना, रूपन्देही )