© २०२३
नेपालगञ्ज, ९ साउन
साउनको पहिलो साता बितिसक्दा पनि पानी नपरेपछि बाँकेको डुडुवा गाउँपालिकाका किसानहरू खेतमा धान रोप्ने कि सुक्दै गएको धानमा पानी हाल्ने भन्ने दोधारमा परेका छन् । डुडुवा–४, लालापुरकी किसान दक्दीरा दर्जीले करिब दुई विघा खेतमा पम्पसेटको माध्यमबाट डुडुवा खोलाबाट पानी ल्याएर जेनतेन रोपाइ सकिन् । तर, बाँकी तीन विघा खेतमा सिँचाइको स्रोत नहुँदा अझै पनि बाँझै रहेको छ । “पहिले रोपेको धान सुक्न थालिसक्यो,” उनले चिन्तित हुँदै भनिन्, “अब त्यसमा पानी हालौं कि बाँझो खेतमा ?”
कम्दी क्षेत्रमा आफ्नै खेतमा बाख्रा चराउँदै गरेकी अर्की किसान साकिरा दर्जीले भनिन्, “घाँस नै सुक्न थालिसक्यो, पशु चराउने ठाउँ पनि छैन अब ।” उनीहरू जस्तै डुडुवाका अधिकाँस किसान अहिले आकाशमा बादल लाग्ने आशामा दिन गन्दै बसेका छन् ।
कम्दीका सयूब खाँ भन्छन्, “जोतेर तयार भएको खेत अझै पनि बाँझै छ, पानी परेन भने कसरी रोपाई गर्ने?” पम्पसेटबाट सिंचाइ गरेर लगाइएको धानसमेत अहिले चर्को घामका कारण डढ्न थालेको उनले बताए । बोरिङबाट पानी लिएर खेत सिँचाइ गर्दा प्रति घण्टा सय रुपैयाँ तिर्नुपर्ने भएकाले किसानको खर्च बढ्दो छ । “पहिले रोपेको धान जोगाउने कि नयाँ खेतमा रोपाइ गर्ने—त्यही अन्योल छ,” अर्का किसान असिफ खाँ भन्छन् ।

‘‘बोरिङबाट सिंचाई गरेर थाकिसक्यौं, कहिले यो खेतमा त कहिले त्यो खेतमा पानी हाल्दैछौं, अझै पानी परेन भने यो वर्षको बाली गुम्ने पक्का जस्तै छ ।” बाँकेको डुडुवा, नरैनापुर र जानकी र नेपालगञ्ज आसपास क्षेत्रका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिँचाइ सुविधा भएका ठाउँहरूमा असारमै रोपाइ सकिन्छ तर डुडुवालगायत सिंचाई सुविधा नभएका क्षेत्रमा अझै पनि साउनमा मात्र रोपाइ हुने गर्दछ । किसानहरू भन्छन्, “यदि सिँचाइको सुविधा पाएका भए हामी पनि असारमै रोपाइ गरेर बाली दोब्बर गर्न सक्थ्यौं ।”
यस वर्ष हालसम्म बाँके जिल्लामा ठूलो वर्षा भएको छैन । सिक्टा सिँचाइ आयोजना, बोरिङ, पम्पसेट र मोटरको सहयोगमा हालसम्म करिब ७५ प्रतिशत रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकी क्षेत्रमा सिँचाइको सुविधा नहुँदा खेत बाँझै छन्, जहाँ अहिले पशुहरू चरिरहेका देखिन्छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेका अनुसार राप्ती सोनारी र बैजनाथमा सिँचाइको सुविधा भएकाले समयमै धेरै रोपाइ सकिएको हो भने नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा भने रोपाइ ढिलो भइरहेको छ । घिमिरे भन्छन्, “अहिले पनि भदौको पहिलो सातासम्म रोपाइ हुने भएकाले खडेरी भन्न मिल्दैन, अझै समय छ ।”
तर विगतका वर्षहरूले देखाएको छ । अचानक अत्यधिक वर्षा हुँदा धान भित्र्याउने बेलामा ठूलो नोक्सानी हुने गरेको छ । अघिल्लो वर्ष जस्तै, यो वर्ष पनि मौसमले साथ नदिने हो भने किसानको मेहनत फेरि खेर जाने खतरा उस्तै छ ।