© २०२३
नवलपरासी पश्चिम् , ९ साउन ।
बर्दघाट नगरपालिकाले वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ९ जना कर्मचारी सरुवा अर्थात हेरफेर गरेको छ । कर्मचारी हेरफेर भएपछि सम्बन्धित वडाका वडाध्यक्षहरुले असन्तुष्टि व्यक्त गरेपछि सरुवा भएका कर्मचारीहरु हाजिर हुन नसकेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले एकैपटक नौ जना कर्मचारीको सरुवा गरेपछि वडाध्यक्षहरुले हेरफेर गरिएका ती कर्मचारीहरुलाई हाजिर गर्नबाट रोक लगाएका छन् । आफूहरुलाई कुनै खबर र आधिकारिक सरसल्लाह नगरी कर्मचारी सरुवा गरेको भन्दै उनीहरुलाई हाजिर नगराएको बताइएको छ ।
आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष स्वयं वडाध्यक्ष रहने प्रावधान भएपनि आफूहरुलाई थाहै नदिई एकलौटी रुपमा कर्मचारी हेरफेर गरिएको वडाध्यक्षहरुको आरोप छ ।
स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा वडाध्यक्षहरुलाई रहने भएकाले कुनै छलफल बिना सरुवा गरिएकाले निर्णय अमान्य हुने बर्दघाट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंले बताए । “मेरो वडाको कर्मचारी सरुवा हुँदा मलाई थाहा हुनु पर्छ कि पर्दैन, थाहा पाउनु पर्ने त होला नि, एकलौटी गरियो”–अध्यक्ष चापागाईंले भने ।
यता बर्दघाट नगरपालिका वडा नम्बर १४ को दाउन्नेदेवी स्वास्थ्य चौकीमा सरुवा भएका बाबुराम तिमल्सिना हाजिर भएका छैनन् । सरुवा प्रक्रियाबाट उनी आफै असन्तुष्ट बनेका छन । “यो मसान्तको बेला कुनै कमजोरी नहुँदा पनि हाम्रो राय नबुझी एकाएक सरुवा गरियो, जहाँ गए पनि काम नै गर्ने हो तर भर्खर हाम्रो स्वास्थ चौकी नयाँ भवनमा सरेकाले थुप्रै जिम्मेवारी छन्, त्यसैले पनि असहज भएको हो यद्यपि सरुवा भएको ठाउँमा नजाने भन्ने होईन”–तिमल्सिनाले भने । उनी स्वास्थ्यका सातौं तहका कर्मचारी हुन् । नगरपालिकाले उनको सट्टामा छैठौं तहका कर्मचारी पठाएको छ ।
नगरपालिकाले सरुवा गर्दा किन हाजिर हुन दिनु भएन भन्ने प्रश्नमा नगर प्रवक्ता सन्त बहादुर गाहले भने – “हाजिर नभएको कुरा बाहिर आएछ तर स्वास्थ्य केन्द्रको ब्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष नै हुने हुँदा आफ्नो केन्द्रमा को कर्मचारी आउदै छ भन्ने हामिलाई नै थाहा नभएको कुरा चाहिँ किन बाहिर आएन ।” नगरपालिकाले एकलौटी रुपमा निर्णय गरेको वडाध्यक्षहरुको आरोप छ ।
यता प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले भने कर्मचारी सरुवा बढुवा हेरफेर कार्यालयको नियमित प्रक्रिया भएको बताए । अस्थायी, करारमा रहेका ठाउँहरुमा मापदण्ड अनुरुप नै स्थायी कर्मचारी पठाइएको र कार्यालयको आवश्यकता अनुसार कर्मचारी सरुवाको अधिकार नियमतः प्रमुख प्रसाशकीयलाई नै हुने खनालले बताए । “करार ईन्चार्ज भएका दुई ठाउँमा ५ बर्षे अवधिपछि शाखाको सल्लाह अनुसार नै मापदण्ड बनाएर स्थायीलाई पठाइएको छ अन्यमा पनि आवश्यकता अनुसार गरिएको हो यो नियमित प्रक्रिया हो”–खनालले भने ।
आफूहरुलाई जानकारी बेगर प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुख ३ जनाको सल्लाहमा मात्रै सरुवा गरिएको भन्दै ती कर्मचारीहरुलाई हाजिर हुन नदिने अडानमा वडा अध्यक्षहरु रहेका छन् । केही वडाध्यक्षहरुले भने यसलाई अनावश्यक बखेडाको रुपमा लिएका छन् भने असन्तुष्ट वडाध्यक्षहरुले आधिकारिक रुपमा छलफल नभै निर्णय गर्न नहुने बताउँदै आएका छन् ।
उप प्रमुख रुद्र प्रकाश उपाध्यायले विशेष गरी दुई वटा मापदण्डका आधारमा सकेसम्म स्वास्थ्य केन्द्रहरुमा थाई कर्मचारी पठाउने र अर्को लामो समय एकै ठाउमा रहेका कर्मचारीलाई न्यायपूर्ण रुपमा सरुवा गर्ने भन्ने उद्देश्यले नै सरुवा भएको बताए । “अहिले परिस्थिति खलबलिएको बेलामा वडाध्यक्षहरुलाई माइनस गर्न यसो गरिएको हो कि भन्ने पर्न गएको हो, आफूले थाहा नपाउँदा त्यो कुरा आउनु स्वभाविक हो, तर अन्यायपूर्ण गरिएको छैन”–उपप्रमुख उपाध्यायले भने । यता वडाध्यक्षहरुले भने मिलेमतोमा एकलौटी रुपमा नै हतारमा सरुवा भएको दावी गर्दै आएका छन् ।