© २०२३
काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।
‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् ।
साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेव ागर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् । ‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’
पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३४ वर्ष भइसकेको उल्लेख गर्दै अहिले ४५ वर्ष पुगेको उल्लेख गरिन्।
‘यो घाम जत्तिकै छर्लंग भएको कुरा हो। मलाई पार्टी सदस्य हुनबाट बन्चित गर्नुपर्ने कुनै कारण छैन। ऐन कानुन पारटीको मूल्यान्यता, मेरो स्वतन्त्रता नियन्त्रण हुने गरी गरिएको निर्णयले मलाई दुखित तुल्याएको छ। यसले पार्टीको शाख गिराउनेछ। सत्यलाई अस्थायी रुपमा छेक्न सके पनि सत्यलाई लुकाउन सकिँदैन। जनवादको मूल्यमान्यता पनि यही हो।’
उनले थपिन्, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३४ वर्ष भइसकेको थियो। अहिले ४५ भइसकेको छ। पार्टी सिद्धान्तप्रति प्रतिबद्ध हुँदाहुँदै बन्ञित गर्न कदाबी मिल्दैन।’