© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा खानेपानी र सिँचाइको अभाव तत्काल सम्बोधन गरिने बताएका छन्।
शुक्रबार महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्माण गरिएको प्रसूति गृह उद्घाटन समारोहमा बोल्दै उनले पहिलो चरणमा ५०० वटा डिप बोरिङ जडान गरिने घोषणा गरे।
प्रधानमन्त्री ओलीले मधेसलाई सरकारले “सङ्कटग्रस्त क्षेत्र” घोषणा गरिसकेको उल्लेख गर्दै, अब सरकार दीर्घकालीन योजनासँगै तत्कालीन समाधानतर्फ पनि अघि बढ्ने स्पष्ट पारे।
उनले हवाई यात्रा गरेर महोत्तरी आउँदा अधिकांश क्षेत्र सुक्खा अवस्थामा देखिएको जनाउँदै, यो समस्या तत्काल सम्बोधन नगरे दिगो असर पर्ने चेतावनी दिए।
उनका अनुसार मधेस प्रदेशका सबै आठ जिल्लामा खानेपानी र सिँचाइ दुबैको गम्भीर अभाव रहेको छ। त्यसैले संघीय सरकारले विशेष ध्यान दिएर आवश्यक स्रोत र प्रविधि परिचालन गर्ने तयारी गरेको हो।
पानीको अभावले प्रत्यक्ष रूपमा जनताको जीवनस्तरमा असर परेकाले सरकार अब ‘विशेष कार्यक्रम’ ल्याउन लागिपरेको प्रधानमन्त्री ओलीले बताए।
यसअघि मन्त्रिपरिषद्को साउन ७ गतेको बैठकले मधेस प्रदेशलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
ओलीको भ्रमण र घोषणाले अब मधेसमा खानेपानी र सिँचाइको दीर्घकालीन समाधानतर्फ केही गति आउने संकेत देखिएको छ।