© 2026
सुर्खेत ।
वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारे निवासी ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको शुक्रबार बिहान करेन्ट लाग्दा मृत्यु भएको हो।
सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी होमनजंग बुढथापाका अनुसार बिहान करिब पौने ११ बजेतिर आफ्नै घरमा विद्युतीय घाँस काट्ने मेसिन प्रयोग गर्ने क्रममा तार सर्ट भई दम्पती करेन्टको चपेटामा परेका थिए।
तत्काल अचेत अवस्थामा रहेका उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। तर, अस्पताल पुर्याएपछि सवा ११ बजेतिर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा प्रयोग गरिएको घाँस काट्ने मेसिनको अवस्था र सुरक्षित उपकरणको प्रयोगबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
यो घटनाले ग्रामीण क्षेत्रमा विद्युतीय उपकरण प्रयोग गर्दा हुने लापरवाहीप्रति फेरि एक पटक चेतावनी दिएको देखिएको छ।