काठमाडौँ ।
सत्तारुढ दल नेकपा एमालेले संघीय निजामती सेवा विधेयकमा आफ्ना सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावलाई पार्टीको औपचारिक निर्णय नभई व्यक्तिगत स्वतन्त्रता अन्तर्गत आएको प्रतिक्रिया दिएको छ।

राष्ट्रिय सभामा छलफलमा रहेको विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउने विषयमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
यस विषयमा संसदमा बहस जारी रहँदा, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरू संशोधन प्रस्ताव राख्न स्वतन्त्र भएको भन्दै त्यसलाई सामान्य प्रक्रिया भन्नु पर्ने धारणा व्यक्त गरेका छन्।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले एमाले नेतृत्वसँगको संवादमा यस्तो प्रस्टोक्ति आएको बताए।
उनका अनुसार एमालेले आफूका सांसदहरूलाई स्वतन्त्र रूपमा विधेयकमा संशोधन राख्न छुट दिएको र त्यसैअनुसार संशोधन दर्ता भएको जानकारी कांग्रेसलाई दिएको हो।
उनले स्मरण गराए कि भूमि ऐनजस्ता विधेयकमा समेत कांग्रेसभित्रका १०–१२ सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका थिए। त्यसैले सरकारबाटै प्रस्तुत भएको विधेयकमा पनि सांसदहरूले सुझाव र संशोधन दिनु संसदीय प्रक्रिया अन्तर्गत स्वाभाविक मानिनुपर्ने उनको भनाइ थियो।
कुलिङ पिरियडको विषय गम्भीर र संवेदनशील भएकाले यसबारे थप छलफल गरेर निष्कर्षमा पुगिने भन्दै उनले संवाद र समन्वयमार्फत विधेयकलाई अगाडि बढाइने बताए।
सांसदहरूको स्वतन्त्रता, संसदीय अभ्यास र विधेयकको गुणस्तरमा केन्द्रित रहेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उनको संकेत थियो।




