© २०२३
काठमाडौं, ९ साउन।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सदस्यता नवीकरण रोकिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ राजनीतिक रणनीति तय गर्न थालेकी छिन्। त्यसैको पहिलो चरणस्वरूप उनले आज (शुक्रबार) दिउँसो काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्।
भण्डारीले उक्त पत्रकार सम्मेलनमार्फत आगामी राजनीतिक योजनाबारे सार्वजनिक रूपमा धारणा राख्नेछिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सदस्यता नवीकरण प्रक्रिया रोकेपछि भण्डारी सक्रिय राजनीतिमा खुला प्रवेश गर्ने संकेत दिँदैछिन्।
भण्डारी निकटका नेताहरूका अनुसार उनी अब ‘पर्ख र हेर’ रणनीति अन्तर्गत देशव्यापी दौडाहामा निस्कनेछिन्। जिल्ला-जिल्लामा कार्यकर्तासँग भेटघाट तथा संवाद गर्दै एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने तयारी भइरहेको बताइएको छ।
सदस्यता विहीन बनाउने निर्णय केवल प्रशासनिक नभई राजनीतिक कदम भएकाले उनले यसको जवाफ राजनीतिक रूपमा दिने तयारी थालेको भण्डारी पक्षीय नेताहरू बताउँछन ।
पार्टी नेतृत्वसँग स्पष्ट असहमतिका संकेत दिँदै उनी देशभरका कार्यकर्तामाझ पुग्ने योजना बनाइरहेकी छन्।