© २०२३
पृष्ठभूमि
कर्मचारी व्यवहार, नेतृत्व अभ्यास, कार्यस्थल वातावरण एवं सुविधाहरू र संस्थागत नीतिहरूले सामूहिक रूपमा कर्मचारीहरूमा पर्ने असरलाई नै कार्य संस्कृति भनिन्छ ।
कार्य संस्कृतिलाई सकारात्मक एवं नकरात्मक रूपमा मापन गर्ने गरिन्छ । हामी सबैले कार्य संस्कृतिको बारेमा धेरै सुनेका छौँ र कुनैपनि संगठनको सफलताको बक्ररेखालाई सहि आकार दिने यसको क्षमताको बारेमा पनि बुझेकै छौँ तर के हामीले आफ्नो कार्यस्थलको कार्य संस्कृत्तिको बारेमा विशेष रूपमा ध्यान दिएका छौँ त ?
कार्य संस्कृत्ति त दैनिक रूपमा व्यक्त भइरहेकै हुन्छ । उच्च व्यवस्थापकहरू, विभागीय प्रमुखहरू, अग्रस्थानमा खटिएर कार्य गर्ने कर्मचारीहरू, कार्यालय सहयोगीहरूका कृयाकलापद्वारा यो हरेक दिन प्रभावित भैरहेकै हुन्छ ।
कार्य संस्कृति एक अमूर्त धारणा हो तर यसले कर्मचारीहरूको र सेवाग्राहीहरूको अनुभवमा महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ ।
संगठनमा कर्मचारी भर्ना प्रणाली धेरै सुदृढ र सशक्त छ र व्राण्डको नाम लोगो पनि धेरै नै आकर्षित छ जसले दक्ष एवं कुशल प्रतिभाहरूलाई संगठनमा आकर्षित त गर्न सक्दछ तर संगठनमा रहेको कार्य संस्कृतिले ति नवआगन्तुक प्रतिभाहरूलाई टिकाइराख्न सक्दछ या सक्दैन भन्ने प्रश्न उत्तिकै महत्वपुर्ण छ ।
असल कार्य संस्कृति भएको संस्थामा कर्मचारीहरूको आकर्षण, उनीहरूको योगदान, अपनत्व बढि हुन्छ र यसले अन्ततोगत्वा कर्मचारीको उत्पादकत्वमा टेवा पु¥याइरहेको हुन्छ । कुनैपनि संगठनमा विभिन्न श्रोतहरू मध्ये मानवश्रोत नै सबैभन्दा महत्वपूर्ण श्रोत हो ।
भौतिक, आर्थिक र सूचनाका श्रोतहरूको सहि सदुपयोग गरी उत्पादकत्व अभिवृद्धि गर्ने जिम्मेवारी कर्मचारीको हो । त्यसैले कर्मचारीहरूलाई नै संगठनका सबैभन्दा मुल्यमान सम्पत्ति मानिन्छ ।
संगठनको आर्थिक समृद्धिको मुल आधार नै कर्मचारीको उत्पादकत्व हो । त्यसैले संगठनहरू कसरी कर्मचारीको उत्पादकत्व अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा नीति रणनीति तर्जुमा गरी सोही अनुसार कार्य गरिरहेका हुन्छन ।
कर्मचारी उत्पादकत्वलाई प्रभाव पार्ने थुप्रै कारणहरू हुन सक्दछन तापनि सबैभन्दा महत्वपूर्ण कारण कार्य संस्कृतिलाई नै मानिन्छ ।
कर्मचारी उत्पादकत्वमा प्रभाव पार्ने तत्वहरू
कतिपय संगठनहरूको कार्यस्थलको समग्र अवस्था हेर्दा कार्य संस्कृत्तिमा निकै नै कमजोरीहरू रहेको देखिन्छ । फितलो नीति नियम, व्यवसायिक तथा दूरदर्शी नेतृत्वको अभाव, सिमित सुझाव सल्लाह स्पष्ट निर्देशन नहुनु, व्यवसायिक सोचको अभाव, समयको वेवास्ता गर्नु, जिम्मेवारी बोधको अभाव, प्रभावकारी पुरस्कार र दण्ड प्रणालीको अभाव, कार्यालय भित्र अनावश्यक र नकारात्मक कुराकानी तथा टिका टिप्पणीहरू हुनु, कर्मचारीहरूको बीचमा अस्वस्थ प्रतिस्पर्धा उच्च हुनु ।
कार्यालयमा कर्मचारी ढिला उपस्थित हुनु वा प्रायः अनुपस्थित रहनु, कर्मचारीद्वारा संगठनको नकारात्मक पक्षको हल्ला गर्नु वा विभिन्न माध्यमद्वारा नकारात्मक टिकाटिप्पणी गर्नु, कार्यालयका गोप्य कागजात एवं सूचना अनाधिकृत रूपमा जानकारी गराउनु वा पहुँचमा पु¥याउनु, कार्यालयले तोकिएको समय आफ्नो व्यक्तिगत प्रयोजनमा लगाउने, विभिन्न आग्रह पूर्वाग्रहका आधारमा निर्णय लिने जस्ता प्रबृत्तिले कार्य संस्कृति स्खलित हुँदै गएको देखिन्छ ।
कार्यस्थल तनाव
कर्मचारी उत्पादकत्व कम गर्ने अर्काे प्रमुख कारण भनेको कार्यस्थलमा हुने तनाव हो । जब कर्मचारीमा कार्य सम्बन्धी नकारात्मक सोचहरू उत्पन्न हुन्छन्, तब उनीहरूको ध्यान काममा केन्द्रित हुन सक्दैन र उच्चस्तरमा कार्य सम्पादन गर्न सक्दैनन् ।
धेरै जिम्मेवारी एकै समयमा दिइनु, पर्याप्त साधन र श्रोत उपलब्ध नगराउनु, पर्याप्त समय नदिनु, कमजोर मुल्याङ्कन पद्धति, माथिल्लो तहवाट हुने अनावश्यक दवाब, लामो समयसम्म एउटै प्रकृत्तिको कार्य जिम्मेवारी दिनु जस्ता कारणले कर्मचारीमा तनाव उत्पादन गराउँदछ । यी बाहेक पारिवारीक एवं व्यक्तिगत कारणले पनि तनाव उत्पन्न गराउन सक्दछ ।
अपनत्वको अभाव
जवसम्म कर्मचारीहरूमा आफै पनि कम्पनीमा एक अंश हो भन्ने भावना जागृत हुदैन, तव उसको कार्यसम्पादन पनि उच्च स्तरको हुन सक्दैन ।
संगठनको नेतृत्व एवं उच्च व्यवस्थापनले हरेक कर्मचारीमा यो संस्था सबैको भएको र सबैको सामुहिक प्रयासबाट मात्र संस्थाको उन्नती र प्रगति सम्भव हुने धारणाको विकास गराउन हर संभव प्रयास नगरेमा कर्मचारीहरूमा केवल जागिरे मानसिकताको विकास हुनेछ । अपनत्व भनेको त्यस्तो अस्त्र हो जसले कर्मचारीलाई इमानदार र जिम्मेवार भएर कार्य गर्न अग्रसर गराउँदछ ।
कमजोर व्यवस्थापकीय शैली
संगठनहरूमा न्यून कर्मचारी उत्पादकत्वको अर्को मुख्य कारण भनेको कमजोर व्यवस्थापन हो । धेरै जस्तो व्यवस्थापकहरू आफ्ना कर्मचारीहरूमा सुक्ष्म व्यवस्थापन गर्न चाहने, निरकुंशता लाद्न खोज्ने एवं निर्णयहरूमा कर्मचारीहरूलाई सहभागि गराउन नखोज्ने, व्यवस्थापकहरू आफुलाई नेतृत्व भन्दापनि हाकिमको रूपमा उपस्थित हुन चाहने, कर्मचारीहरूलाई मेसिनको रूपमा मात्र हेर्ने, कर्मचारीहरूलाई उत्प्रेरित भन्दापनि भयभित गराउन चाहने जस्तो कमजोर व्यवस्थापकीय शैलीले गर्दा कर्मचारीहरूले स्वतस्फुर्त रूपमा उच्च स्तरको कार्य सम्पादन गर्न सक्दैनन र अन्त्यमा कर्मचारीहरूको उत्पादकत्व ह्रास हुँदै जान्छ ।
कर्मचारीहरूलाई रिकग्नाईजन गर्नु
संगठनमा कार्यरत कर्मचारीहरूको सहि कामलाई व्यवस्थापनले पहिचान गरी मान्यता दिने पद्धती नभएमा कर्मचारीहरू प्रोत्साहित हुन सक्दैनन । जबसम्म कर्मचारीहरू आफुले सहि ढंगले सम्पादन गरेको कार्यमा र उक्त कार्य गर्न गरेको प्रयत्नमा प्रशंसा र मान्यता पाउन सक्दैनन, तब यसले उनीहरूमा विचलनको अवस्था उत्पन्न गराउँदछ । फलस्वरूप कर्मचारी उत्पादकत्व कम कमी आउँदछ ।
रिकग्निसन नै फिड्ब्याक प्रदान गर्ने उच्चतम रूप हो र यो प्रदान गर्न निकै सजिलो छ । धेरै राम्रो प्रयास, धेरै धन्यवाद, मलाई विश्वास छ– तपाईले अझै धेरै राम्रो गर्नुहुन्छ जस्ता शब्दहरू व्यक्त गर्नाले कर्मचारीहरूको उत्पादकत्व वृृद्धि गर्नमा महत्वपूर्ण भुमिका खेल्दछ ।
एकै व्यक्तिमा अत्याधिक जिम्मेवारीहरू
एकै कर्मचारीलाई एकै समयमा धेरै जिम्मेवारी अर्थात मल्टिटास्किङ्ग प्रदान गरेमा उत्पादकत्वमा प्रतिकुल प्रभाव पर्दछ । जब एकजना कर्मचारीलाई कुनै एकै प्रकारको कार्यको जिम्मेवारी दिइन्छ भने उसले आफ्नो ध्यान उक्त एकै प्रकारको कार्यमा मात्र लगाउँदछ र समयमै गुणस्तरीय कार्य सम्पादन गर्न सक्दछ ।
तर एकै समयमा धेरै कार्यहरू सम्पादन गर्नुपर्ने भएमा कर्मचारीको ध्यान कुनैपनि काममा केन्द्रीकृत हुन सक्दैन र कर्मचारीमा तनावको अवस्था उत्पन्न हुन्छ, जोखिम उत्पन्न हुन्छ र एउटा कार्य सम्पादन गर्नपनि लामो समय लाग्ने भएकोले उत्पादकत्व स्वतः कम हुन जान्छ ।
कार्य सन्तुष्टी नहुनु
कर्मचारीहरूमा आफ्नो पेशाप्रति सन्तुष्टी उत्पन्न हुन नसकेमा पनि उत्पादकत्वमा बढोत्तरी हुन सक्दैन । कुनै एक संगठनमा कार्यरत कर्मचारीको लक्ष्य एवं उद्देश्य र अन्य कुनै बैंक वा पेशामा प्रवेश गर्ने छ भने यसबाट उ हाल कार्यरत संगठनमा संतुष्टी भई कार्य सम्पादन नगर्न सक्दछ ।
ढिलो चाँडो आफू हालको संगठनबाट बहिर्गमन हुनु नै छ किन जोखिम लिने भन्ने प्रवृत्तिको विकास हुन सक्दछ । त्यसैगरी सुपरीभाइजर एवं नेतृत्वको व्यवहार एवं अनुकुल कार्य वातावरणको अभावमा पनि कर्मचारीमा कार्य सन्तुष्टी नहुन सक्दछ ।
न्यून तलब भत्ता एवं अन्य सुविधाहरू
कर्मचारीहरूलाई प्रोत्साहित गर्ने सबैभन्दा महत्वपूर्ण तत्व भनेको नै मौद्रिक तत्व हो । उच्च तलब, भत्ता, बोनस लगायत अन्य सुविधाहरू पाइने भएमा सकारात्मक कार्य संस्कृति निर्माणमा बल पुग्दछ तर आफ्नो सोच अनुसारको मौद्रिक एवं गैर मौद्रिक सुविधाहरू प्राप्त नभएमा पनि कर्मचारीहरूको कार्य सम्पादनमा प्रतिकुल प्रभाव पर्दछ ।
तुलनात्मक रूपमा उच्च सुविधा पाइने संस्थाप्रति कर्मचारीहरूको आकर्षण धेरै हुन्छ । त्यसैगरी अपर्याप्त तलवभत्ताको कारण कर्मचारीहरू अन्य पेशामा पनि आवद्ध भएको पाइन्छ । कार्यरत संगठनको व्यवसायको बारेमा जब कर्मचारीहरूलाई सोच्ने, चिन्तन गर्ने इच्छा नै हुदैँन तब कार्यसम्पादनमा प्रतिकुल प्रभाव परी उत्पादकत्व कम हुँदै जान्छ ।
प्रभावकारी कर्मचारी तालिम तथा विकासको अभाव
जबसम्म कर्मचारीहरूलाई समयसमयमा पर्याप्त तालिम तथा विकासका कार्यक्रमहरू संचालन गरिदैन तबसम्म कर्मचारीको कार्यकुशलतामा अभिवृद्धि हुन सक्दैन । तालिम कार्यक्रमहरू संचालन गर्ने तर त्यसको प्रभावकारीता विश्लेषण नगर्ने परिपाटी विद्यमान छ ।
तालिमलाई बोझको रूपमा लिने र व्यवस्थापनले एउटा नियमित प्रकृयाको रूपमामात्र यसलाई लिने हुँदा यसले कर्मचारीको उत्पादकत्वमा ठोस योगदान पु¥याएको देखिदैन । कतिपय कर्मचारीहरूले तालिमलाई एउटा बोझको रूपमा लिने प्रबृत्तिपनि बढ्दै गएको देखिन्छ । तसर्थ कर्मचारीहरूलाई तालिम कार्यक्रहरूमा सक्रियरूपमा सहभागी गराउन प्रोत्साहित गर्नुपर्दछ ।
टिमवर्कको भावना
कुनैपनि कुनै विभाग वा शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमा टिमवर्कको भावना जागृत गराउन सकेमा उत्पादकत्वमा सकरात्मक प्रभाव पर्दछ । यदि कर्मचारीहरूमा समूहमा कार्य गर्ने इच्छा छैन, व्यक्तिगत इच्छा आकांक्षा एवं कार्यसम्पादनमा मात्रै ध्यान हुन्छ, सामूहिक प्रयत्नमा इच्छा हुँदैन भने उनीहरूमा आशातीत उत्पादकत्व वृद्धि हुन सक्दैन ।
कतिपय कार्यहरू कर्मचारीहरूको एकल प्रयासमा सम्पादन गर्न सक्दैनन । सामूहिक प्रयासमा कार्य गरेमा तोकिएको लक्ष्य प्राप्त गर्न सहज हुन्छ । यसबाट एकातर्फ हरेक कर्मचारीको जिम्मेवारी वृद्धि हुन्छ भने छिटोछरितो ढंगबाट कार्य सम्पादन भई उत्पादकत्वमा अभिवृद्धि हुन्छ । तसर्थ कार्यस्थलको वातावरणलाई स्वस्थ, सुदृढ र सहज बनाउन नेतृत्वले टिम परिचालन गर्न अग्रसर हुनुपर्दछ ।
निष्कर्ष
असल कार्य संस्कृतिले कार्यलाई आनन्दमय, उत्साहपद र उत्पादनशील बनाउँदछ । यसले निष्ठावान कार्य समूहको सिर्जना गर्छ । नेतृत्वले निरन्तर कम्पनीकल्चरको भावना जागृत गराउँदछ । कार्यस्थलभित्र र बाहिर निरन्तर रूपमा अन्तर्कृया गरिरहन्छ । संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्म अपनत्वको भावना उत्पन्न गराउँदछ ।
यसबाट अन्ततोगत्वा कर्मचारीको उत्पादकत्वमा अभिवृद्धि हुन्छ र संगठनको लक्ष्य प्राप्त गर्न सहज हुन्छ । तर, यसको ठिक विपरित खराव एवं बिशाक्तकार्य संस्कृतिले कार्यलाई असह्य एवं दुषित बनाउँदछ र संगठनको लक्ष्य प्राप्तिलाई निकै कठिन बनाउँदछ ।
व्यवस्थापकहरूले संगठनको लक्ष्य तथा उद्देश्य कर्मचारीहरूलाई स्पष्ट सेयर गर्ने, कर्मचारी भर्ना गर्दा आवश्यक सिप क्षमताका अतिरिक्त ‘कल्चरल फिट’ लाई पनि जोड दिने, ‘सोसल नेटवर्किङ्ग एण्ड मेन्टरिङ्ग’ मा ध्यान दिने, स्वउदाहरण मार्फत नेतृत्व गर्ने, कर्मचारीहरूको कल्याण, स्वास्थ्य र वृत्तिविकासमा ध्यान दिने, असल कार्यलाई सम्मान एवं पुरस्कृत गर्ने र निरन्तररूपमा फिडव्याक लिइरहने गरेमा कुनैपनि संगठनको कार्यसंस्कृति उन्नत र उच्चस्तरको हुन्छ ।
यसबाट संगठनको समग्र परिसुचकहरूमा सकारात्मक वृद्धि भई कर्मचारी उत्पादकत्वमा पनि सकारात्मक प्रभाव पर्न थाल्दछ । अतः कुनैपनि संगठनले कर्मचारी उत्पादकत्व वृद्धि गर्नको लागि सर्वप्रथम असल कार्य संस्कृतिको विकास एवं यसलाई प्रोत्साहित गर्नु अपरिहार्य छ ।
(लेखकः नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख हुन)