© 2026
काठमाडौं, ८ साउन ।
लगातार आठ दिनदेखि बढ्दै आएको शेयर बजारमा आज पनि हरियाली देखिएको छ।
यद्यपि पछिल्ला दुई दिनको वृद्धिदर भने एकल अंकमा खुम्चिएको छ। बुधबार ५.१७ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३.७६ अंकले वृद्धि भई २९८२ अंकमा पुगेर थामिएको छ।
बिहीबारको कारोबार अवधिमा बजारमा उतारचढावको अवस्था देखियो। बिहान ११:३८ बजे नेप्से २९९० अंकसम्म पुग्दा, दिउँसो १:२३ बजे भने घटेर २९६४ अंकमा झरेको थियो।
दिनभरको अस्थिरता बीच कुल कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेर १८ अर्ब ४९ करोड रुपैयाँमा सीमित रह्यो। अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएको थियो।
कारोबार भएका कम्पनीहरूमा १२३ को मूल्य बढ्दा १२७ को घटेको देखिन्छ। आज हाइड्रोपावर समूहले सबैभन्दा राम्रो प्रदर्शन गर्दै २ प्रतिशतले उकालो लागेको छ। विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार समूहमा पनि सामान्य वृद्धि देखिएको छ।
त्यस्तै, बैंकिङ, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह भने घटेका छन्। बैंकिङ समूह ०.६१ प्रतिशतले, फाइनान्स ०.७६, र जीवन बीमा ०.२३ प्रतिशतले घटेका छन्।
आजको कारोबारमा हाइड्रोपावर समूह अग्रस्थानमा रह्यो। कुल १८ अर्ब ४९ करोडको कारोबारमध्ये ८ अर्ब ४० करोड कारोबार एक्लै हाइड्रोपावर समूहमा भएको हो, जसले कुल कारोबारको झन्डै ४५ प्रतिशत हिस्सा ओगटेको छ।
अन्य समूहको कारोबार विवरण हेर्दा, बैंकिङमा १ अर्ब ३२ करोड, विकास बैंकमा १ अर्ब ८५ करोड, माइक्रोफाइनान्समा १ अर्ब ७९ करोड, र अन्य समूहमा १ अर्ब ९ करोड बराबरको कारोबार भएको छ। बाँकी समूहहरूमा भने कारोबार रकम १ अर्बभन्दा तल रह्यो।
आज चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ— ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर। साथै हिमालयन हाइड्रोपावरको मूल्य ८.४१ प्रतिशत र मायाखोलाको ७.४ प्रतिशतले वृद्धि भएको छ।
उता उन्नति सहकार्य लघुवित्त र समृद्धि फाइनान्स भने क्रमशः ३.५८ र ३ प्रतिशतले घटेका छन्। दिनभर सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा राधी विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स परेका छन्। बजार पूँजीकरण हाल ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।
लगातारको वृद्धिसँगै बजार उत्साहजनक देखिए पनि दैनिक उतारचढावले जोखिम पनि संकेत गरिरहेको विश्लेषकहरू बताउँछन्।