© 2026
चन्द्रौटा, ०८ साउन ।
पोस्टमार्टम कक्ष मृत शरीरको सत्य खोजिन्छ । तर कपिलवस्तुको घटना भने अलि फरक छ । डम्बर कुमारी बलामीको घटना गत असार ४ गते भुगर्भ सिमेन्ट प्रा.लि. अगाडि सवारी दुर्घटनामा परि मृत्यु भयो ।
शिवराज नगरपालिका–३, मदवा बस्ने ५५ वर्षीय उनको दुर्घटना पश्चात् मृतकको परिवार र प्रहरीले शव पोस्टमार्टमको लागि शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको आधारभूत अस्पतालमा ल्याइएको थियो ।
परिवारका अनुसार मृतक बलामीको कानमा १ तोलाका २ वटा सुनका रिङ थिए । शव पोस्टमार्टमका लागि लगिँदा सुन निकाल्न नसकेकाले रिङसहित शव भित्रिएको थियो ।
शवलाई पोस्टमार्टम गरी बुटवल अन्त्येष्टि स्थल लैजाँदा, कानमा भएको सुन गायब भइसकेको थियो । सुन हराएको हल्ला फैलिएपछि अस्पताल परिसरमा हङ्गामा मच्चिएको थियो ।
परिवारले १३ दिने कार्य सकेर तत्कालै प्रहरीमा सुन हराएको उजुरी दिए । तर प्रहरी, प्रशासन मौन बस्यो । यसरी मौन बस्दा नागरिकले अनेकौँ प्रश्न उठाएका छन् ।
यता अस्पतालले सुन नभएको दाबी गरिरहेको थियो । शव चिरफार गर्ने डा. अमित पाण्डे र सहायक कर्मचारी सेराज अहमद दर्जीलाई प्रहरीले अनुसन्धान गर्न थाल्यो । डा. पाण्डे प्रवेश गर्न भन्दा एक घण्टा अघि कर्मचारी दर्जी गएकोले र आफू पुग्दा शरीरमा पुरा खाली रहेको तस्बिर रहेको डा. पाण्डेले बताए ।
कार्यालय प्रमुख समेत रहेका पाण्डेले कर्मचारीलाई पटक–पटक वास्तविक कुरा भन्न आग्रह गरे पनि आफू कुनै पनि सुन चोरी नगरेको बताउँदै आएको पाण्डेले बताए । प्रहरी अनुसन्धानको बहानामा झन्डै एक महिना पीडित परिवारलाई झुलाएर राखियो ।
अन्ततः साउन ३ गते अस्पतालका कर्मचारी दर्जीले रु.१ लाख दिने प्रस्ताव गरे । परिवारले रु.२ लाख नभई नमिल्ने अडान राखेपछि साउन १० गते भाका माग्दै कर्मचारीले परिवारलाई घर फर्काएका थिए । तर त्यसको दुई दिनमै साउन ५ गते नै कर्मचारीले फोनमार्फत २ लाखको चेक दिन सहमत भए ।
परिवार अचम्मित भयो—यदि आफैले सुन चोरी नगरेको भए किन २ लाखको चेक दिनुपर्ने । पारिवारी स्रोतका अनुसार चेक फिर्ता गरी सोही रकम नगदमा बुझाइएको छ । बैङ्कको कारोबार देखिने भएकोले नगद बुझाएको पारिवारिक स्रोतले जनाए । परिवारकी सदस्य हिमा थापाले दोषीलाई पैसा दिएर जोगाउन खोजिएको आरोप लगाइन् ।
उनका अनुसार प्रहरी चौकीमै मिलाउने प्रक्रिया हुनुपर्नेमा स्थानीय एक व्यक्तिको सहजीकरणमा कार्यालय बाहिरै नगद लेनदेन गरी आरोपित कर्मचारीलाई उन्मुक्ति दिन खोजिएपछि यस विषयले चर्चा पाएको छ ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले असार ४ गतेदेखि घटनामा मुछिएका कर्मचारीलाई हाजिर नगराउन निर्देशन दिएका बताए । सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै प्रमुख थापाले गलत काम गर्ने जो कोहीलाई नछोड्ने बताउँदै दोषी कर्मचारीलाई उन्मुक्ति नदिइने बताए ।
वडा प्रहरी कार्यालय चन्द्रौटा भने चोरीको घटनालाई सामान्य रूपमा लिएको देखिन्छ । घटना भएको महिनौँ दिनसम्म चोर पक्राउ गर्न नसकेकोमा स्थानीय नागरिकहरूले प्रहरी प्रशासन तर्फ प्रश्न तेर्साएका छन् ।
अनुसन्धानमै रुमैलिदैँ प्रहरी
वडा प्रहरी कार्यालयका चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले सुन हराएको भनी निवेदन बमोजिम अनुसन्धान भइरहेको बताए । हराएको समयमा कर्मचारी सेराज अहमद दर्जी रहेको र उनलाई नै यो विषयमा पटक पटक सोधपुछ गरे पनि स्वीकार नगरेको बताए ।
बाहिर मिलापत्र भएको भन्ने विषयमा आफू जानकार नभएको उनको भनाइ छ । मृतकका परिवार पीडित हिमा थापा र पिडक सेराज अहमद दर्जी दुवैको भनाई अनुसार पैसाको कारोबारको विषयमा वडा प्रहरी कार्यालय चन्द्रौटाको मुद्दा फाटमै कुरा टुङ्गिएको र वडा प्रहरी कार्यालय अगाडी रहेको एक नास्ता पसलमा स्थानीय व्यक्तिको नेतृत्वमा २ लाखको चेक दिएको थियो । उक्त चेक पछि फिर्ता गरी नगद २ लाख पीडित परिवारलाई दिइएको स्रोतले जनाएको छ ।
आरोपित दर्जीले आफूले इज्जत र जागिर जोगाउनको लागि रकम दिएको बताए । आफूले सुन नचोरेको भए पनि पोस्टमार्टम कार्यालयको जिम्मेवारी आफ्नो रहेको जिकिर गरे ।
निर्दोष भएको आधार पेस गर्ने भनाई राख्दै सामाजिक सञ्जालमा दर्जीले एक व्यक्तिको नाम लिँदै भिडियो पोस्ट गर्दै भनेका छन्, “उहाँले मसँग भन्नुभयो २ लाख रुपैयाँ देऊ म केश मिलाइदिन्छु अनि उहाँको कुरा सुनेर मैले २ लाखको चेक विपक्षीलाई दिएँ ।
चेक दिएपछि उहाँले भन्नुभयो तिमी जाऊ टेन्सन नगर केश म रफादफा गराइदिन्छु ।” यता अस्पतालले भने यही ६ गते प्रेस विज्ञप्ति जारी गरे पनि पोस्टमार्टममा सहयोग गर्ने कर्मचारीको नाम भने खुलाएको छैन ।
यद्यपि आरोपित दर्जीलाई भनिएको भए उनी कार्यालयमा ५ गतेसम्म हाजिर भएको बुझिएको छ । यदि आरोपित दर्जी नै हो भने नाम किन खुलाइएको छैन, यसरी घटना घटेको १ महिना दिन बितिसक्दा पनि स्थानीय प्रहरी प्रशासन, अस्पताल प्रशासन तथा सम्बन्धित निकाय मौन हुनु माथि नै सामाजिक अभियन्ता तथा आम नागरिकहरूको प्रश्न उठेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेको हस्ताक्षरमा जारी गरेको विज्ञप्तिमा आरोपितको नाम नखुल्दा अस्पताल प्रशासनमाथि समेत प्रश्न उठेको स्थानीय बताउँछन् ।