© २०२३
बर्दिया, ०८ साउन ।
यति बेला बर्दियामा युरिया मलको हाहाकार भएको छ । नेपाल सरकारले अनुदानमा वितरण गर्ने युरिया मल समयमा नआएपछि हाहाकार भएको हो ।
नेपाल सरकारले अनुदान वितरण गर्ने मल नपाएपछि किसानहरू धानमा समयमा युरिया मल छर्नका लागि भारतीय युरिया मल १७ सयदेखि २ हजारसम्म चर्को मूल्यमा युरिया मल किन्न बाध्य भएका छन् ।
बर्दिया जिल्लामा करिब ८० प्रतिशत जमिनमा धान रोपाई किसानहरूले सकाइसकेका छन् । किसानहरूले धानमा छर्नका लागि युरिया मलका लागि भौँतारिरहेका छन् ।
नेपाल सरकारले अनुदानमा वितरण गर्ने मल समयमा नआउँदा किसानहरूले धानमा समयमै युरिया मल छर्नका लागि भारतबाट दोब्बर मूल्यमा युरिया मल खरिद गरी छर्न बाध्य भएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी गराए ।
धान रोपाइँ गरिसकेपछि करिब १५ देखि २० दिन भित्र युरिया मल छरिसक्नु पर्छ तर सरकारले दिने मल नआएपछि दुःख कस्ता गरेर एक हजार पर्ने मल किसानहरूले २ हजार सम्म पनि तिरेर किसानहरूले मल किनेर धान छर्न थालेका छन् ।
धेरै सहकारीहरूले सेयर सदस्य नर्भएको किसानहरूलाई मल नदिने गरेका छन् तर त्यस्तो गरेको भेटिएमा सहकारीलाई कारबाही गर्ने समेत पालिका अध्यक्ष त्रिपाठीले जानकारी गराए ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ तर यहाँ किसान हुनु नै दुखको कुरा हो । यहाँ किसान भन्ने बित्तिकै दुख पाउने बाहेक कुनै काम छैन । हिउँदे सिजन होस या बर्खाको सिजन समयमा मल मिल्दैन ।
नेपाल सरकारले अनुदानमा वितरण गर्ने मल समयमा आउँदैन आए पनि पर्याप्त मात्रामा आउँदैन । सहकारीमा निकै सीमित मात्रामा मल आएको हुन्छ । बिहान देखि मलको लागि लाइनमा बसिन्छ तर पालो आउँदा सम्म मल सकिसकेको हुन्छ ।
धेरै आशा लिएर सहकारीमा मल लिनको लागि गाइन्छ तर रित्तै हात घर फर्केको ४ पटक भएको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का किसान विहारी सिंह थारुले जानकारी गराए ।
यता भारतीय युरिया मल किन्न जाने हो भने प्रहरीको दर र त्यसमाथि नेपालमा पाउने मल भन्दा दोब्बर मूल्यमा बिक्री भइरहेकोले किन्न निकै गाह्रो भइरहेको किसान थारुले बताए ।
उनले भने, नेपाल सरकारले मल उपलब्ध गराउन सक्दैन भने भारत सरकार सँग सम्झौता गरेर भारतीय मल सहज रूपमा ल्याउनको लागि पहल गर्नु पर्छ । भारतबाट नेपाल मल आए पनि किसानहरूले ल्याउन पाउँदैनन् व्यापारीहरूले मात्र ल्याउन पाउने हुन्छन् ।
जस कारण व्यापारीहरूले मौका छोपी किसानहरूलाइ दिनदाहाडै लुट्ने काम गरिरहेका छन् । भारतमा त्यही युरिया मल ८ सय रूपैँया हुन्छ र सीमा वारी आउँदा त्यही मल २ हजारका दरले व्यापारीहरूले बिक्री गरिरहेका छन्, अनि कसरी हुन्छ किसानहरूको आर्थिक विकास ।
यता सहकारीहरूले सेयर सदस्यहरूलाई मात्र मल वितरण गरेकोले किसानहरूले कसरी मल किन्ने सबै सहकारीको सेयर किन्ने बजेट पनि किसान सँग नरहेका किसान थारुले जानकारी गराए ।
रातदिन नभनी मल खोज्न लागेको एक साता भयो तर पनि युरिया मल पाएको छैन । नेपाल सरकारले वितरण गर्ने मल पाउने कुनै छाँट काँट छैन भारतीय मल दोब्बर मूल्यमा बिक्री भइरहेको बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का किसान तारा थारुले बताए ।
हिजो भर्खरका कुरा पहिला १७ सयमा भारती मल बिक्री भएको ठाउँ पाएर किन्न गएको तर त्यहाँ पुग्दा सम्म मुल्य बृद्धि गराएर २ हजारमा पुर्यापछि फेरी रित्तो हात घर फर्केर आए ।
यो कुनै नौलो कुरा होइन सीमाका प्रहरीहरूले तस्करहरूलाई दिउसै भारतबाट मल तत्कार गराउँछन् तर किसानहरूलाई एक बोरा मल पनि ल्याउन मुस्किल पारेका हुन्छन् ।
उनले भने, सहकारीको सेयर किन्नका लागि ५ हजार देखि ६ हजार सम्म पर्छ त्यो सबै सहकारीमा किन्न सक्ने क्षमता छैन र मैले किनेको शिवसिखर सहकारी रकम हिनामिनाको कारणले बन्द भैसकेको अवस्था छ ।
अबको दुई तिन दिन भित्र युरिया मल धानमा छर्न नसके युरिया मल छर्ने समय पनि गुज्रिनेछ र उत्पादनमा कमी आउने किसान थारुले बताए । यो अवस्थामा किसानहरूको आर्थिक विकास कसरी हुन्छ ?
युरिया मलको अभाव बाँके र बर्दिया जिल्ला दुबैमा छ । सरकारले वितरण गर्दै गरेको अनुदानको मल समयमा जिल्ला जिल्लामा पुग्न नसक्दा तस्करहरू मौलाएका छन् ।
किसानहरूले वर्ष भरी जोहो गरेको रकम व्यापारीहरूले किसानहरूको मौका छोपी केही दिनमा मात्र प्राप्त गर्न सफल भएका छन् भन्न पनि सकिन्छ । सरकारले यस तर्फ पन ध्यान दिने कि ?