© २०२३
हालै सार्वजनिक गरिएको तथ्याङ्कले नेपालमा बालविवाहको दर अझै पनि उच्च रहेको देखाएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ ले नेपालमा अझै पनि बालविवाहको दर उच्च रहेको देखाउँदा बालविवाह नियन्त्रणमा चुनौती थपिएको हो कि भन्ने आशङ्का जन्माएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार बर्सेनि ५४ हजार जनाभन्दा धेरै बालबालिकाले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् ।
बालविवाह गर्नेमध्ये ७ प्रतिशत बालबालिकाको उमेर १० देखि १४ वर्षको हुने गरेको छ । यो तथ्याङ्कले बालबालिकाको स्वास्थ्य जोखिममा परेको भन्दै चिन्ता थपेको छ ।
२० वर्ष मुनि विवाह गरेर बच्चा जन्माउँदा आमाको र बच्चा दुवैको स्वास्थ्यमा असर पर्दछ । तसर्थ यो समस्या रोक्न अव सङ्घीय, प्रदेश र पालिकाहरू जिम्मेवार बन्नु जरुरी छ । अशिक्षा र सचेतनाको अभावका कारण बालविवाह गर्नेहरूको सङ्ख्या बढेको अवस्था छ । सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण भेगमा बालविवाहको समस्या बढिरहेको छ ।
यो तथ्याङ्कले बालविवाहको समस्या गम्भीर समस्याका रूपमा देखा परेको अवस्थामा नियन्त्रणतर्फ सबैको पहल जरुरी छ । यो कुनै एक सरकारको पालामा भएको समस्या भन्दा पनि पहिलेदेखि समाजमा जरो गाडेर बसेको समस्या भएकोले यसको नियन्त्रणमा पहल आवश्यक छ ।
मधेसमा मात्रै होइन बालविवाहको समस्या केही तराई र पहाडी जिल्लामा समेत समस्याकै रूपमा देखिएको छ । अबको दिनमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने रणनीति कार्यान्वयन गर्नु जरुरी छ । मधेस प्रदेश सरकारले विगत दुई वर्षदेखि त्यसको नेतृत्व गरिरहेको छ ।
मधेस प्रदेशले मात्रै होइन अव सङ्घीय सरकार र पालिकाहरूले पनि यो समस्या नियन्त्रणका लागि ठोस कदम चाल्नु पर्ने देखिएको छ । बालविवाह विरुद्धको अभियान अघि बढाउन सबैले हातेमालो गर्नुपर्ने आवश्यकता छ ।
मधेस प्रदेशमा यसअघिको सरकारले बेटी पढाऊ, बेटी बचाउ अभियान सञ्चालन गरेको थियो । प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानले मधेसका जनतामा चेतना वृद्धिमा सहयोग पुगेको विश्वास गर्न सकिन्छ ।
यद्यपि यो अभियानबाट चाहेको अनुरूप प्रतिफल प्राप्त हुन नसकेको भने यथार्थ हो तर अबका दिनमा यो अभियानलाई पनि सफल बनाउन सक्ने हो भने चेलीबेटीप्रति गरिने दुर्व्यवहारका घटना नियन्त्रण गर्न सहयोग पुग्नेछ ।
जसबाट जबरजस्ती हुने बालविवाहको घटनामा भारी कमी आउन सक्छ । बालविवाहको समस्या कुनै एक प्रदेश र स्थानको भन्दा पनि आम समस्याका रूपमा बुझ्नु जरुरी छ ।
यद्यपि बालविवाहको सबैभन्दा ठुलो समस्या दुर्गम र मधेस प्रदेशमा छ । मधेसमा यो मात्रै होइन बालविवाहले ठुलो जरा गाडेको छ । बालविवाहको समस्या चेतनाको कमीका कारण अति पिछडिएको क्षेत्रमा बढ्दो छ ।
जहाँ राज्यको पहुँच त्यति पुग्दैन । घर गृहस्थी चलाउने नाममा उमेर नपुगी विवाह गरिदिने समस्या भयावह नै छ । विहेबारी २० वर्ष पारी भन्ने अभियान सञ्चालन गरिए पनि त्यसको पहुँच अझै पिछडिएको बस्तीसम्म पुगेको छैन ।
त्यसमाथि सामाजिक समस्या, पारिवारिक दायित्व बढ्नु आदि जस्ता विकराल समस्याले बालविवाह बढाएको छ । सबैभन्दा ठुलो समस्या जबसम्म चेतनाको स्तर माथि उठ्दैन र परिवार आफै आर्थिक रूपमा सबल हुँदैन, तबसम्म यो समस्याले विराम लिने अवस्था छैन ।
छोरीलाई छिटै विवाह गरेर पटाइदिए ठुलो बन्धनबाट मुक्ति मिल्ने अन्धविश्वासका कारण बालविवाहको बढ्दो अवस्था देखिएको छ । अबको दिनमा चेलीबेटीलाई पहिले साक्षर बनाउँदै समय नहुँदै विवाह गर्दा उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमको विषयमा सचेतनाका कार्यक्रम अभिभावकबाटै सुरु गर्नु आवश्यक छ ।
चेलीबेटी शिक्षित भए बालविवाह नियन्त्रणमा सहयोग पुग्ने भएकोले सबै बालबालिकालाई स्कुल पठाउने व्यवस्थामा ध्यान दिनु अत्यावश्यक छ । बालविवाह मुक्त देश बनाउन चुनौती होला तर अभियानलाई सफल बनाउन सकियो भने यो समस्या न्यूनीकरणमा बल पुग्नेछ ।