© २०२३
काठमाडौं, ८ साउन ।
नेकपा (माओवादी क्रान्तिकारी)का वरिष्ठ नेता सीपी गजुरेलले अहिले नेपालमा कायम रहेको गणतन्त्रलाई “बुर्जुवा गणतन्त्र”को संज्ञा दिँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले वर्तमान शासन व्यवस्था जनताको होइन, पुँजीपति, दलाल र नोकरशाही वर्गको पक्षमा रहेको टिप्पणी गरे।
गजुरेलले जनगणतन्त्रको लक्ष्य बोकेर आफूहरूले लडाइँ लड़े पनि, पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईको “गद्दारी”का कारण जनगणतन्त्र नआएको आरोप लगाए।
उनले दाहाल र भट्टराई अहिले पनि नेपाली कांग्रेसकै एजेन्डामा अघि बढिरहेको दाबी गरे। उनका अनुसार, “अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, यो बुर्जुवा वर्गका लागि मात्र काम गर्ने खालको हो।
यसले देशको विकास गर्न सक्दैन, जनताको प्रतिनिधित्व गर्दैन।” गजुरेलले आफूहरू यस्तो गणतन्त्रका लागि नलडेको स्पष्ट पार्दै जनगणतन्त्र ल्याउन अझै संघर्ष आवश्यक रहेको संकेत दिए।
उनका ती भनाइहरूले क्रान्तिकारी धारको माओवादीले मुख्यधारको राजनीतिमा पुगेका पुराना नेताहरूको विरुद्धमा पुनः आलोचनात्मक र उग्र धारणा अघि सारेका छन्।