© २०२३
पाल्पा, ७ साउन ।
मनसुनको समयलाई मध्यनजर गर्दै सडक सुरक्षाका कारण खानीजन्य वस्तुहरूको ढुवानीमा रोक लगाउने प्रशासनिक आदेश जारी गरेको छ । पाल्पाको माथागढी गाउँपालिका क्षेत्रबाट भने टिपर सञ्चालन यथावत् रहेको छ ।
प्रमुख जिल्ला अधिकारी र वन विकास समितिको निर्णय अनुसार चुनढुंगा, कोइला लगायतका निर्माणजन्य वस्तुहरूको उत्खनन् र ढुवानी रोकिएको भए पनि रुप्से क्षेत्रबाट १० चक्के टिप्परहरूमा २५–४० टनसम्म कोइला ढुवानी भइरहको स्थानीयवासी बिक्रम सारु बताउँछन् ।
“सडक कमजोर छ, भारी टिपर गुड्दा घरहरू नै हल्लिन्छन्,” सारु भन्छन्, “पुराना माटो–ढुंगाको घर भत्किने अवस्थामा पुगेका छन् । कसले हाम्रो कुरा सुनिदिन्छ?”
स्थानीयवासी तिलीसरा थापा भन्छिन्, “स्थानीय निकायले राजस्व उठाउने काममा मात्रै केन्द्रित छन् । जनताको आवाज भन्दा उत्खनन् कम्पनीहरूको पक्षमा बोल्छन् । गरीब जनताले न्याय पाउँदैनन् ।”
प्रशासनको आदेश अनुसार वर्षा अवधिमा भारी सवारी साधनमार्फत ढुवानी रोकिएको हो । तर एक चालकका अनुसार, १५ टनभन्दा कम भार त टिपर मालिकलाई घाटा हुने भन्दै धेरैजसो ४० टनसम्म सामान लोड गरेरै चल्ने गरेको खुलाएका छन् ।
यसबारे प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने कोइला ढुवानीमा रोक नलगाईएको बताए । सडक क्षमताभन्दा बढी लोड गर्नेलाई कारवाही गरिने भन्दै कारवाहीको दायराबाट कसैलाई बाहिर जान नदिइने दाबी गरे ।
प्रहरी र प्रशासनका चेतावनीका बाबजुद पनि टिपरको अनियन्त्रित ढुवानी रोकिएको छैन । यसले सडकको अवस्था झनै जिर्ण बनाउँदै गएको र दुर्घटनाको जोखिम बढाएको छ ।